'कैलाली जिल्ला तेक्वान्दो संघका कारण ब्ल्याक बेल्ट मिलेन'
2023/02/05, 12:12
 
kk

 कैलाली जिल्ला तेक्वान्दो संघको कार्यसमितिको कारण धनगढीका पृथ्वीराज घिमिरेले आफ्नो छोरीले ब्ल्याक बेल्ट नपाएको आरोप लगाएका छन्। नेपाल तेक्वान्दो संघको सूचनाअनुसार गत कात्तिक २३ गते आफ्नो छोरी प्रिभा घिमिरेले पनि प्रथम डानको ग्रेडिङ दिए पनि सुनियोजित ढङ्गले ब्याक बेल्ट पाउनबाट जिल्ला कार्यसमितिले बञ्चित गरेको घिमिरेले बताएका छन्।

आफ्नो छोरीको रेड बेल्ट र रेड ब्ल्याकको प्रमाणपत्रमा जिल्ला अध्यक्षको हस्ताक्षर नभएको भन्दै प्रथम डान पाउनबाट छोरीलाई रोकिएको घिमिरेको भनाइ छ। तर, छोरीको दुबै प्रमाणपत्र जिल्लाले ग्रेडिङ गरेर दिएको तथा ग्रेडिङका लागि लाग्ने दस्तुर पनि बुझाएको घिमिरेको दाबी छ।

प्रथम डानको ग्रेडिङ परीक्षा दिएका आफ्नो छोरीबाहेक सबैको प्रमाणपत्र आएको तर जिल्ला कार्यसमितिले जानाजान दुःख दिने नियतले आफ्नो छोरीको केन्द्रमा रिपोर्टिङ नै नगरेको घिमिरेले गुनासो गरेका छन्।

यता, नेपाल तक्वान्दो संघ कैलाली जिल्ला अध्यक्ष वुद्धिबहादुर खड्काले भने ग्रेडिङका लागि घिमेरले रेड बेल्ट र रेड ब्ल्याक बेल्ट प्राप्त गरेको प्रमाणपत्र जिल्ला कार्यसमितिमा पेस नगरेकाले ग्रेडिङ गर्न समस्या भएको बताएका छन्। उनले प्रिभा घिमिरे कुन डोजाङमा खेल्छ भन्ने कुरा पनि थाहा नभएको बताएका छन्।

तर, तेक्वान्दो संघका एक जना पदाधिकारीले भने प्रिभा घिमिरे शिवपुरी डोजाङको खेलाडी रहेको र उसँग प्रथम डान ब्ल्याक बेल्ट प्राप्त गर्न आवश्यक प्रमाणपत्र रहेको बताएका छन्। प्रिभाका बुवा पृथ्वीराज घिमिरेले यो विषयमा केन्द्रमा उजुरी गर्ने बताएका छन्।