एलपीएलको अन्तिम चारमा पुग्ने ४ टिमको टुङ्गो, नव बालबाटिका बौनिया पनि सेमिफाइनलमा
2023/02/13, 5:23
 
rytryt

कैलालीका धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को अन्तिम चारमा पुग्ने टिमको टुङ्गो लागेको छ । सोमबार कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिरले अत्तरियाको गुराँस एकेडेमीलाई पराजित गरेसँगै एलपीएलको अन्तिम चारमा पुग्ने ४ टोलीको टुङ्गो लागेको हो । जारी संस्करणमा अपराजित रहेको डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी, लोटस आई स्कुल अत्तरिया र लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी यस अघि नै अन्तिम चारमा पुगिसेका टोली हुन् ।  सोमबार अन्तिम चारका लागि भएको निर्णायक खेलमा नव बाल बालबाटिकाले गुराँस एकेडेमीलाई ७३ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो । 

ty

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको बालबाटिकाले २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको गुराँसले १४‍.१ ओभरमा आफ्ना सबै विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो । उसका सचिन साउदले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नव बाल बाटिकाका बलर नर बहादुर सार्कीले ह्याट्रिक सहित ४ विकेट लिए । उनले इनिङ्सको तेह्रौँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिँदै ह्याट्रिक पुरा गरेका थिए । गजेन्द्र बोहराले ३ तथा प्रकाश जैसीले २ विकेट लिए । 

त्यस अघि बालबाटिकालाई प्रवेश साउद र विराट सिंह भण्डारीले समान २९ रनको योगदान दिए । प्रकाश जैसीले २५ तथा गजेन्द्र बोहराले २० रन बनाए । गुराँसको बलिङमा सचिन साउदले ३ तथा प्रकाश रोकायाले २ विकेट लिए ।सोमबारको दोस्रो खेलमा वेष्टन क्रिष्टलले होली फेमिली माथि सान्त्वना जित निकालेको छ । 

टस जिते ब्याटिङ गरेको होली फेमिलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको वेष्टन क्रिष्टलले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो । उसका हृतिक थापाले ४२ र आशिष् तिरुवाले ३६ तथा नीरज ऐरले अविजित २४ रन बनाए । बलिङ तर्फ होली फेमिलीका राहुल भण्डारीले २ विकेट लिए । 

2

त्यस अघि होली फेमिलीको इनिङमा कैलाश क्षेत्रीले ३९ र अभिषेक बुढाले २८ तथा मनोज खड्काले २७ रन बनाए । बलिङ तर्फ वेष्टनका रोशन थापा र सुधांशु रावलले समान २/२ विकेट लिए । दुवै टोली प्रतियोगिताबाट भने बाहिरी सकेका छन् । अब प्रतियोगितामा मङ्लबार लिग चरणको अन्तिम खेल शारदा विद्या निकेतन र सैनिक आवासीय महाविद्यालय तेघरीबिच हुनेछ । दुवै टोली प्रतियोगिताको उपाधि होडबाट भने बाहिरिइसकेका छन् । बिहीबार दुई सेमिफाइनल र शनिवार उपाधि भिडन्त हुनेछ । 

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०र१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।