‘राजधानी बनाएरमात्रै विकास हुँदैन, रोजगारी पनि जरुरी’
2023/02/15, 11:57
 
dd

व्यवसायी गणेश पाण्डेयको पसल अत्तरिया बजारस्थित चौकमै छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका प्रवेशद्वार मानिने चौक जहाँ दिनभरि मान्छेको चहलपहल भइ रहन्छ । चहलपहल बढ्दो रहे पनि उनको व्यापार भने खासै चलेको छैन । ‘कुनै कुनै दिन त मान्छे हेरेर बसेजस्तोमात्रै हुन्छ’, भाँडाकुडा र प्लाष्टिक सामानका व्यवसायी पाण्डेयले भने । आफू जस्ता साना व्यवसायीमात्रै नभइ धेरै लगानी गरेका ठूला व्यापारीले पनि यहि समस्या भोगिरहेको उनी बताउँछन् । ‘पहिले खोकामै पाँचरछ हजारको बिक्री हुन्थ्यो’, उनले भने,‘अहिले व्यापारी बढे, लगानी बढ्यो तर, व्यापार बढेको छैन ।’

अत्तरिया सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको बजार हो । यहि बजारको सिरानीमा रहेको वन क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको राजधानी चार वर्ष अगाडि घोषणा गरेको थियो । तर, राजधानी निर्माणको कार्य अहिलेसम्म अगाडि बढेको छैन । राजधानी नबन्दा व्यापार, व्यवसायले फड्को मार्न नसकेको व्यवसायीको भनाइ छ ।  राजधानी घोषणा भएपछि स्थानीयसहित व्यापारी पनि खुशी थिए । तर, चार वर्षसम्म राजधानीको काम कागजमै सीमित भएपछि उनीहरु निराश छन् । राजधानी निर्माणको कार्य नहुँदा अत्तरियाले विकासमा फड्को मार्न नसकेको स्थानीय धनञ्जय भट्टले बताए ।

‘राजधानी निर्माणको काम अगाडि बढेको भए यहाँको आर्थिक क्षेत्र पनि अलि बढी चलायमान हुन्थ्यो’, उनले भने,‘तर, राजधानीको कुरा सुस्ताए जस्तै, आर्थिक क्षेत्र पनि सुस्ताएको छ ।’ अत्तरिया बजार पहाडी जिल्लाको प्रवेशद्वारमात्रै नभइ पूर्व–पश्चिम, उत्तर–दक्षिणको मिलन बिन्दु पनि हो । मिलन बिन्दुको रुपमा रहेका कारण चहलपहल भइरहन्छ । चाडपर्वका बेला मान्छेको चाप अझ बढी हुने गर्दछ । तर, चहलपहल देखिए अनुसारको आर्थिक गतिविधि नरहेकाले राजधानी तोकिएको क्षेत्र विकासमा पछाडि नै रहेको व्यापारी पाण्डेयको भनाइ छ ।

‘यहाँ राजधानी बनाएरमात्रै विकास हुँदैन’, उनले अगाडि थपे,‘विकासका लागि रोजगारीको व्यवस्था गर्न पनि आवश्यक छ ।’ रोजगारीको व्यवस्था नरहेका कारण आर्थिक गतिविधि चलायमान र विकास हुन नसकेको पाण्डेयको बुझाइ छ । रोजगारीका लागि भारत जाने जनशक्तिलाई यहिँ नै रोजगारीको अवसर सृजना गर्नु पर्नेमा उनले जोड दिए । ‘राजधानी बनिहालेमा मन्त्री र नेताको आउजाउ त बढ्ला तर, धेरै विकास होला भनेर अपेक्षा गर्न सकिन्न । विकासका लागि राजधानीसंगै रोजगारीको अवसर सृजना गर्नुपर्दछ’, उनले भने ।

अब अत्तरियाको भविष्य नेतामाथि निर्भर रहेको स्थानीय बताउँछन् । नजिकै रहेको हरैया विशेष आर्थिक क्षेत्रलाई कार्यान्वन र खुटिया–स्याउले–वीपीनगर द्रुतमार्गलाई चाँडै सञ्चालन गर्न सकिएमा स्थायी राजधानीमा आर्थिक विकासले फड्को मार्ने उनीहरुको भनाइ छ । द्रुत मार्ग सञ्चालन भएमा बन्देगडा, कालुखोला लगायतका सम्भावना बोकेका क्षेत्र अत्तरियासंग जोडिने बताइएको छ । मार्गले सो क्षेत्रको उत्पादन अत्तरिया बजारसम्म पु¥याउन सहज हुनेछ ।

चुनाव ताका नेताहरुले अत्तरियाको विकासको लागि प्रतिवद्धता जनाएकाले प्रतिवद्धता अनुसार काम गर्न आवश्यक रहेको भट्टले बताए । नेताहरुमाथि जनताको आशा र भरोसा रहेकाले त्यो आशा, भरोसा नेताहरुले तोड्न नहुने उनको भनाइ थियो । ‘अब यहाँको विकासको आश नेतामाथि नै गरेका छौं’, उनले भने,‘उनीहरु विकासका लागि काम गर्नेछन् भन्ने विश्वास छ ।’

अहिले जनताले अपेक्षा गरे अनुसार अत्तरिया क्षेत्रको विकास नभए पनि यसको भविष्य सुन्दर रहेको कतिपयको बुझाइ छ । अत्तरियामै भेटिएका डडेल्धुराका योगराज पाण्डेयले आफूले अत्तरियाको भविष्य निकै सुन्दर देखेको प्रतिक्रिया दिए । ‘राजधानी घोषणा गरिएको ठाउँ हो र यहाँ सम्भावना पनि छ’, उनले भने,‘त्यसकारण यहाँको भविष्य सुन्दर देखिन्छ ।’   अत्तरियाको विकासका लागि खुटिया–दिपायल द्रुतमार्ग चाँडै बन्न पनि आवश्यक रहेको स्थानीयले बताएका छन् । त्यो बाटो बनेमा चुरे र पहाडी क्षेत्रको जनताको उत्पादन बजारसम्म पुग्ने र बजारले पनि स्थानीय उत्पादन प्राप्त गर्ने उनीहरु बताउँछन् ।