एलपीएलको फाइनल आज, उपाधिका लागि सत्यवती र लोटस आई भिड्दै
2023/02/18, 6:57
 
Lpl

कैलालीको धनगढीमा माघ २१ गतेबाट सुरु भएको विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएल आज समापन हुने छ ।

फाप्ला क्रिकेट मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि आज डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी अत्तरिया र लोटस आइ इङ्लिस मिडियम स्कुल अत्तरिया प्रतिस्पर्धा गर्दै छन् । खेल फाप्ला मैदानमा दिउसो १२ बजे सुरु हुने छ ।

सत्यवती प्रतियोगिताको अपराजित टोली हो । लोटस आइले आफ्नो पहिलो खेलमै सत्यवतीसँग हार बेहोरेको थियो । सोही हारको बदलमा रहेको लोटस आइलाई पराजित गरी सत्यवती उपाधि रक्षा गर्ने दाउमा हुने छ ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा जारी प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएको आयोजकको भनाई छ ।