न्यू होराइजनमाथि डिसिएको जित
2023/02/18, 6:44
 
crct

भैरहवामा जारी खड्गप्रसाद गौचन यू–१९ क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले जित हात पारेको छ ।  शनिबार भएको खेलमा डिसिएले बुटबलको न्यू होराइजन एकेडेमीलाई ५ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्यू होराइजनले १९.१ ओभरमा सबै विकेट गुमाएर ४८ रनमात्रै बनाउँन सकेको थियो ।  उसका अमर मिश्रले १३ र विशाल भुसालले ११ बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन । डिसिएका सुर्या श्रेष्ठ र दिनेशराज जोशीले समान ३–३ विकेट लिए । सुर्याले ५ ओभरमा २ ओभर मेडन राख्दै १० रनमात्रै खर्चिएका थिए ।

जवाफमा डिसिएले १२. ३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो । उसका आशिष लुहारले १५ रन जोडे । न्यू होराइजनका सुमित पराजुलीले २ विकेट लिए ।  खेलको म्यान अफ द म्याच डिसिएका सुर्या श्रेष्ठ घोषित भए । पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले उनलाई पुरस्कृत गरेका थिए ।