कबड्डीमा उम्दा सुदूरपश्चिम, जुनियर विश्वकप टिममा पाँच खेलाडी
2023/02/25, 5:19
 
ss

सुदूरपश्चिमको कबड्डी खेलको इतिहासमा दुई दशकपछि यहाँका पाँच कबड्डी खेलाडी दोस्रो जुनियर विश्वकप कबड्डी प्रतियोगितामा भाग लिदैछन् ।  सुदूरपश्चिममा पनि कञ्चनपुरबाट सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप कबड्डीमा यहाँका तीन खेलाडीले प्रतिनिधित्व गरेका थिए । आइतबारदेखि इरानमा हुने जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमबाट पहिलो पटक एकसाथ पाँच खेलाडी राष्ट्रिय टिममा अटाउँदै विश्वकपमा भाग लिँदैछन् ।

कबड्डीका निर्वतमान मुख्य प्रशिक्षक विष्णुदत्त भट्टले राष्ट्रिय टिममा आफ्नो जबर्जस्त उपस्थिति जनाउँदै इरानमा हुने विश्वकपमा यहाँका पाँच खेलाडी सहभागी हुने बताए। ‘दशमध्ये पाँच जना खेलाडी सुदूरपश्चिमबाट पर्नु सामान्य विषय होइन’, उनले भने, ‘खेलाडीको नियमित प्रशिक्षण, लगन र मेहनतले विश्वकपसम्म पुग्ने अवसर पाए ।’

मुलुकको प्रतिनिधित्व गर्दै जुनियर विश्वकप खेल्न जानेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रकाश गिरी, आकाश भट्ट, विजय दमाईका साथै कैलालीका रामु टमाटा र गणेश पार्की रहेका छन् । ‘जुनियर विश्वकपमा १८ मुलुक सहभागी हुनेछ”, भट्टले भने, “विश्वकप जुनियरतर्फ पहिलोपटक सहभागी हाम्रो देशको प्रदर्शन राम्रो हुनेमा आशावादी छौँ ।’

त्यस्तै कबड्डी खेलाडी आकाश भट्टले विगतमा गरेको प्रशिक्षण र खेलेका प्रतियोगिताको अनुभवका आधारमा विश्वकपमा प्रदर्शन गर्ने बताए। उनले बन्द प्रशिक्षण राम्रो भएकाले पहिलो सहभागिता भएकाले प्रदर्शनमा कमी हुन नदिने बताए।  विश्वकपमा सहभागी भीमदत्त नगरपालिकाका तीनै जना खेलाडी महेन्द्रनगरस्थित कबड्डी प्रशिक्षण केन्द्रमा दुई वर्षयता र कैलालीबाट छनोट भएका दुई खेलाडी भारतको मुम्बइ प्रशिक्षणरत थिए।

सुदूरपश्चिमबाट सात जना खेलाडी विश्वकपका लागि बन्द प्रशिक्षणमा थिए, त्यसमध्ये ५ जना टिममा परेका हुन्। २०३७ देखि ०३९ सम्म मुलुककै अब्बल सुदूरपश्चिमको कबड्डी टिमले अहिले पनि खेलाडी तयार गर्न र पदक दिलाउने काममा अग्रसर नै रहेको भट्टको भनाइ छ।  सिनियरतर्फ कञ्चनपुरबाट लक्ष्मण अधिकारी, प्रेम थापा, डम्बर बडवाल र महिलातर्फ सरस्वती ऐर र लक्ष्मी ठगुन्नाले विश्वकप कबड्डी खेलिसकेको विगत छ।

कञ्चनपुरमा कबड्डीको प्रशिक्षण सञ्चालनमा आएयता कबड्डी खेलप्रतिको आकर्षणसमेत बढेको छ। ‘कबर्डहलमा नियमति ४५र५० जना प्रशिक्षणमा छन्’, भट्टले भन्छन्, ‘कबड्डीको विकासमा यहाँ सङ्घको पनि महत्वपूर्ण भूमिका छ ।’  त्यसैगरी सिनियर तर्फ पहिलो र दोस्रो विश्वकप खेलेका यहाँका पूर्वराष्ट्रिय खेलाडी लक्ष्मण अधिकारीले आफू दोस्रो विश्वकपमा नेपालको टिममा उपकप्तान रहेको बताए। ‘कबड्डीको विकासमा र खेलाडीको भविष्य सुनिश्चिताका लागि राज्यको ध्यान पुगेन भने अन्तर्राष्ट्रियस्तरमा सहभागिता मात्रै हुने हुन्छ’, उनले भने।  राज्यको ध्यान नपुगेकै कारण विगतमा धेरै खेलाडी बाध्य भएर पलायन हुनु परेको उनी बताउँछन्।