डोटीमा असिनापानीले हिउँदे बालीमा क्षति
2023/02/28, 6:20
 
ss

डोटीमा परेको असिनापानीले हिउँदे बालीनालीमा ठूलो क्षति पुर्‍याएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा परेको असिनापानीले बालीनालीमा क्षति पुर्‍याएपछि किसानहरू चिन्तामा परेका छन् । लामो समयदेखि खडेरी परेको र एकाएक परेको असिनाले गहुँबाली, तरकारीखेती र फलफूलखेतीमा क्षति पुर्‍याएकाले किसानहरू चिन्तित बनेका स्थानीयवासी वीरेन्द्र उपाध्यायले बताए।

हिउँदमा पानी नपरेर खडेरीका कारण खासै हुर्कन नपाएको बालीनाली असिनाले सखाप पारेपछि त्यहाँका किसानलाई भोकमरी हुने चिन्ता छाएको अर्का स्थानीय लोकेन्द्र कठायतले बताए । उनका अनुसार कात्तिक २२ गतेको भूकम्पले थलिएको यो क्षेत्रका स्थानीयले भूकम्प र खडेरीका कारण भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको छ ।

यो वर्ष समयमै पानी नपर्दा खाद्यान्नको भाउसमेत आकाशिएकाले गरिब परिवारलाई भोकमरी टार्न निकै समस्या हुने स्थानीयवासी बताउँछन् । यो वर्ष हिउँदे वर्षा नहुँदा कृषि क्षेत्रमा निकै ठूलो प्रभाव परेको जिल्ला कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ ।