कैलाली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको विजेता धनगढी उपमहानगरपालिका 
2023/03/01, 6:14
 
ss

१३ औं कैलाली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता धनगढी रंगशालामा सम्पन्न भएको हो । कैलाली जिल्लाका १३ वटै स्थानीय तहहरुका झण्डै एक हजार बढी खेलाडीहरुको सहभागीता रहेको प्रतियोगितामा धनगढी उपमहानगरपालिका पहिलो भएको छ ।

धनगढीले १६ स्वर्ण, ५ रजत र ५ कास्य सहित २६ पदक जितेको छ । घोडाघोडी नगरपालिका दोस्रो भएको छ । घोडाघोडीले १६ स्वर्ण ४ रजत र ११ कास्य पदक सहित ३१ पदक जितेको छ । प्रतियोगितामा गोदावरी नगरपालिका तेस्रो भयो । गोदावरीले ८ स्वर्ण ८ रजत र १० कास्य सहित २६ पदक जित्यो । 

प्रतियोगितामा सहभागी टीकापुर नगरपालिकाले ५ स्वर्ण ७ रजत ६ कास्य सहित १८ पदक जित्दा लम्की चुहा नगरपालिकाले दुई स्वर्ण ४ रजत र ७ कास्य सहित ९ पटक जितेको छ । जानकी गाउँपालिकाले एक स्वर्ण ४ रजत र ७ कास्य सहित १२ पदक जितेको छ । प्रतियोगितामा सहभागी गौरीगंगा, मोहन्याल, चुरे, कैलारी, बर्दगोरिया, भजनी र जोशीपुरले भने स्वर्ण पदक जित्न सकेनन् । भजनी र जोशीपुरकले रजत पदक पनि जित्न नसकेको कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

प्रतियोगितामा भलिवल, कवड्डी, एथ्लेटिक्स, कराते, उसु र तेक्वान्दो खेल समावेश गरिएका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले सुदुरपश्चिम प्रदेश स्तरीय  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगिताका बिजेता, उपविजेता र तेस्रो भएका पालिकालाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ ।

कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य जानकीदेवी कुँवर रहेकी थिईन ।