राना थारुद्वारा संस्कृति पुस्तान्तरणको जमर्को
2023/03/03, 10:34
 
ss

चिटिक्क सिङ्गारिएको डोला थियो । त्यसभित्र गलाभरि पैसाको माला लगाउनु भएका ‘दुल्हेराजा’ । डोलाको पछि पछि परम्परागत भेषभूषामा सजिएका महिला, युवायुवतीसहित बालबालिका पनि बाजागाजाको तालमा नाचिरहेका थिए । सुदूरपश्चिम प्रदेशको तराईबासी आदिवासी जनजाति रानाथारु समुदायको विवाहमा देखिएको दृश्य हो, यो ।

विवाहमा बेहुलालाई डोला र बेहुली ९दुल्ही० लाई डोलीमा बोक्ने रानाथारु समुदायको पुरानो चलन हो । डङ्गौरा, देउखरिया थारुले डोलाडोलीमा बेहुलाबेहुली बोक्ने चलनलाई मास्दै गएको बेला रानाथारु समुदायले भने आफ्नो पुरानो परम्परालाई जोगाएर राखेको छ ।

यो चलनलाई जीवन्त राख्नका लागि रानाथारु समुदायले हरेक विवाहमा डोलाडोलीको अनिवार्य रुपमा प्रयोग गर्दै आएको छ । युवा पुस्तामा यो संस्कृति, संस्कार पुस्तान्तरण गर्ने उद्देश्यका साथ दुल्हालाई डोला र दुल्हीलाई डोलीमा बोक्ने परम्परा नछोडेको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका लालमणि राना बताउँछन् ।

‘हाम्रो जुन संस्कृति छ त्यो युवा पुस्तालाई देखाउन र अपनाउनका लागि हामीले विवाहमा डोलाडोलीको प्रयोग गर्न छोडेका छैनौं’, उनले भने । रानाका अनुसार प्रयोग गरेर नदेखाउँदासम्म युवा पिँढीले परम्परागत संस्कृति, चालचलनलाई सजिलै स्वीकार्ने वा बुझ्ने अवस्था छैन । ‘त्यसैले हाम्रो समुदायको हरेक विवाहमा यसको प्रयोग हुन्छ’, रानाले भने । 

डङ्गौरा, देउखरिया थारुमा आधुनिकताको प्रभाव बढ्दो छ । यो समुदायका थारुले आफ्नो आर्थिक हैसियत अनुसार विवाहमा ठूलठूला सवारी साधनको प्रयोग गर्न थालेका छन् । डोलाडोली चढ्नुको सट्टा दुल्हादुल्ही झकिझकाउ पारिएको कार चढ्ने गर्दछन् । पहिले दुल्हा डोलामा र दुल्ही डोलीमा छुट्टाछुट्टै बेहुलाको घरसम्म पुग्ने चलन थियो । अहिले कारमा दुवै जना सङ्गै बसेर पुग्छन् ।

रानाथारु समुदायका अगुवाहरुका अनुसार रानाथारु समुदायको विवाहमा कारको प्रयोग पनि नहुने होइन । तर, कार चढ्नुभन्दा पहिले दुल्हा डोला र दुल्ही डोलीमा बसेर केहि दूरी पार गर्नै पर्दछ । ‘५० मिटरसम्म भए पनि दुल्हादुल्ही डोलाडोलीमा चढ्नु पर्दछ’, धनगढी उपमहानगरपालिका–७ मनहेराका झगरु रानाले भने ।

रानाथारु समुदायले बेहुलालाई राजा मान्ने गर्दछ । त्यसैले बेहुलाहरुलाई ‘दुल्हेराजा’ भनिन्छ । र, डोला पनि राजा बस्ने ठाउँ जस्तै श्रृङ्गार्ने चलन छ । डोलाको सबैभन्दा माथि लोटा र मयँुरको प्वाँख राखेर श्रीपेच बनाइएको हुन्छ । त्यस्तै, डोलालाई मुर्छा, कतारो, छट्री, मयुरको प्वाँख, बेलुन लगायतले सजाइने गरिन्छ । विभिन्न किसिमको कपडा प्रयोग गरेर डोला बनाउने र सजाउने गरिएको रानाले बताए ।

उनक अनुसार बेहुला बोक्ने डोला खाटमा बनाइन्छ । जसमा बाँस र बोक्नका लागि काठ प्रयोग गरिएको हुन्छ । डोलालाई बेहुलाका भिनाजुहरु वा बहिनी ज्वाइँहरुले बोक्ने गर्दछन् । ‘विवाहमा डोला बोक्ने जिम्मेवारी भिनाजु र दुल्हाका बहनुइँ ९बहिनी ज्वाइँ० हरुको मात्रै हो’, रानाले भने । बेहुलाको भिनाजु वा बहिनी ज्वाइँ नभएको खण्डमामात्रै अरुले डोला बोक्ने गरेको जनाइएको छ। 

ठीक यसैगरी, दुल्ही बोक्नका लागि डोली तयार गरिएको हुन्छ । तर, डोलीमा श्रीपेच भने नहुने गरेको लालमणिको भनाइ छ । बेहुलीका दाजुभाईले डोली बोक्ने चलन रहेको धनगढी गाउँका फिरङ्गी राना बताउँछन । ‘टाढा लैजानू पर्नेछ भने गाउँका अन्य मान्छेले पनि पालैपालो डोली बोक्ने गर्दछन्’, उनले भने । 

यो समुदायको आफ्नो छुट्टै संस्कृति, भेषभूषा, परम्परा रहेको छ । नाचगान, खानपान आधुनिकतातिर गइरहे पनि राना थारु समुदायका मानिसले बिहेमा डोलाडोली प्रयोग गर्ने परम्परालाई भने जोगाएर राखेका छन् । फरक संस्कृति भएकै कारण केही वर्ष अगाडि नेपाल सरकारले राना थारु समुदायलाई छुट्टै आदिवासी जनजातिमा सूचीकृत गरेको थियो । कैलाली, कञ्चनपुरको आदिमवासी यो समुदायको जनसंख्या करिब तीन लाख रहेको बताइन्छ । विगतमा आफ्नै समुदायमामात्रै विवाह गर्ने यो समुदायले पछिल्लो समय अरु समुदायका व्यक्तिसंग पनि बिहे गर्न थालेका छन् ।

डङ्गौरा, देउखरिया थारु र राना थारुको बिहेवारी चल्न थालेको छ । यसैगरी, रानाहरुले भारतमा रहेका राना थारुसंग पनि विहेबारी गर्दै आएका छन् । शिक्षा, स्वास्थ्य लगायतमा डङ्गौरा, देउखरिया थारुभन्दा राना थारु समुदाय अझै पछाडि रहेको बताइन्छ ।