युवादेखी बृद्धसम्म झुमे सुदूरपश्चिमको मौलिक होलीमा
पहाडको मौलिक होली तराइमा
2023/03/07, 5:47
 
पहाडको मौलिक होली तराइमा

धनगढी - हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ । तर पछिल्लो समय होलिलाई मौलिक संस्कृतीका रुपममा भन्दा उछृकंल गतिबिधीका रुपमा मनाइन थालेको छ । युवा पुस्ताहरु होलिलाई संस्कृती जोगाउने उद्देश्य भन्दापनि बिकृती मौलाउने किसिमले मनाउन थालेका छन् । तर सुदूरपश्चिमका केही समुदाय भने होलीलाई मौलिक संस्कृतीका रुपमा मनाएर तराइमापनि संस्कृती जगेर्नामा जुटेको छ ।

सुदूरपश्चिममा मात्रै होइन देशभरी होलीलाई बिकृतीका रुपमा मनाउने प्रचलन बढेको छ । होलीलाई आफ्नो संस्कृतीका रुपमा भन्दा पश्चिमा संस्कृतीका रुपमा मनाउने चलनपनि बढेको छ । सुदूरपश्चिममापनि अधिकाशं समुदायले आफ्नो संस्कृती बिर्षेर पश्चिमी संस्कृती अगांलेपनि केही समुदाय भने आफ्नो मौलिक संस्कृतीलाई निरन्तरता दिइरहेका छन् । सुदुरपश्चिमका पहाडी जिल्लामा मात्रै सिमित मौलिक होली हाल तराइका जिल्लामा समेत देखन पाइन्छ । प्रदेशका बैतडी, दार्चुला, डडेल्धुरा लगायतबाट तराइ झरेका नागरिकहरुले पहाडी संस्कृती झल्किनेगरी होली खेल्ने गरेका छन् ।

प्राध्यापक गणेश जोशीले पहाडको मौलिक होली तराइमा खेलिन लागेको बताए । पहाडमा सबै खेल्थे तर तराइमा आएसंगै बिर्षए उनले भने “देवीदेवताका गाथा सहित हामी घर÷घरमा होली खेलिरहेका छौँ यो हाम्रो विशेषता हो, परम्परा हस्तान्तरण पनि भइरहेको छ ।”
मालिकार्जुन दार्चुला सेवा समितिले बर्षै प्रत्येक पहाडी मौलिक होली मनाउने गरेको छ । समाजका अध्यक्ष महेन्द्र पन्तले बिगतबाटै समाजले होली बनाउँदै आएको बताए । बूढापाकादेखि युवासम्म सबै सँगै होली खेल्छा उनले भने“ एकादशीदेखि सुरु भएको होली खेल्ने क्रम पूर्णिमाका दिनसम्मै चल्छ । होलीमा कृष्ण र रामका बारेमा गीतहरू गाइन्छ ।”

उनका अनुसार होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई प्रस्तुत गरिन्छ । विभिन्न देवीदेवताका गाथा एवम् स्तुति तथा इतिहास, प्रसिद्ध वीर पुरुषका गाथालगायत सामाजिक तथा प्राकृतिक विषयवस्तुमा आधारित गाथा प्रस्तुति हुने गरेपनि पछिल्लो समय केवल रङ्गमा मात्रै होली सीमित हुने गरेको छ । होली गोलाकार रुपमा पङ्तिबद्ध भई नृत्य तथा अभिनय गर्दै प्रस्ुतत हुन्छ भने ‘बैठी’ होली बसेर तालीसँग खेल्ने गरिन्छ । अहिलेको पुस्ता त होली भनेपछि रङग दल्ने मात्रै बुझ्न थालेको छ, होलीको आफ्नै मौलिकता छ । अग्रज हरुका अनुसार होलीको महिमा र गरिमालाई अहिलेका पुस्ताले अपनाउनु जरुरी देखन्छ ।

घरमा मात्रै होइन विद्यार्थीहरूको समूह बाटोमा समेत नाचगान गर्दै होलीमा रमाइएको देखिन्छ । दशरथचन्द बैतडी बिद्यार्थी समाज कैलालीलेपनि धनगढीमा पहाडको मौलिक होली खेलिरहेको छ । अबिर दलेका युवायुवतीहरू नाचगान गर्दै होली खेलिरहेको दृश्य झनै रमाइलो छ । कोही मादल ठोक्दै छन् । यो शान्त र मौलिक रूपमा खेलिने रुपाली होलीको दृश्य हो । होलीमा विभिन्न लोक बाजाको प्रयोग गरिन्छ । देवस्थल, सार्वजनिकस्थल तथा घर–घरमा गएर होली खेल्ने चलन छ । होली विजय तथा खुसीयालीको पर्व भएकाले विशेष गरी रङ लगाउँदै मनोरञ्जन गरिन्छ । होलीमा विभिन्न विषय वस्तुमा आधारित गाथाका साथै आशिर्वादसमेत दिने गरेको पाइन्छ । सुदूरपश्चिममा आफ्नो संस्कृती बिर्षेर पशिचमा संस्कृती अगांल्ने क्रम बढेसंगै केही युवा पंक्तीले संस्कृती जगेर्नामा जोड दिएका छन् ।

दशरथचन्द बैतडी बिद्यार्थी समाज कैलालीका अध्यक्ष चेतन चन्दले आफ्नो मौलिक संस्कृती जोगाउन समाजले होली खेली रहेको बताए । पहाडमै मनाइले हालै हामीले तराइमा मनाइरहेका छौँ उनले भने “मौलिक होली मान्ने समाजका ब्यक्तीहरुका घरमा होली खेलिरहेका छौँ, सबै बिद्यार्थीहरु होलीमा सहभागी हुनुहन्छ ।”

यस्तै धनगढीका राजेन्द्र भट्टले बिगतको संस्कृतीलाई निरन्तरता दिन होली खेलिरहेको बताए । हामी युवा पक्तींले उछृखंल गतिबिधी मात्रै होइन हाम्रा संस्कृती जोगाउनमापनि लाग्नुपर्छ उनले भने “हामीले संस्कृतीलाइपनि पुस्तान्तरण गर्न नसके भोलीको पुस्ताले आफ्नो परिवार र ठाउँ समेत बिर्षने छन्, त्यस कारण हामी युवाहरुलेनै समाजमा सकारात्मक काम गर्नुपर्छ ।”

भाषा, साहित्य एवम् लोक साहित्य र लोकवार्ताका विषयवस्तुलाई झल्काउने भएकाले यसको गहन अध्ययन तथा प्रस्तुतिमा निरन्तरता दिनु आवश्यक छ । वर्तमान समयमा पश्चिमा संस्कृति हाबी हुँदै गएपछि हाम्रा मौलिक पहिचान बोकेका संस्कृति लोप हुँदै गएका छन् । होलीलाई अतिरञ्जनात्मक बनाइ मादकपदार्थ सेवन तथा जथाभावी रङ दल्ने परिपाटी बढ्दै गएपछि होलीको मौलिकता हराउँदै गएको छ । होलीको मौलिकता हराउनु भनेको हाम्रो इतिहास र मौलिक पहिचान हराउनु हो । यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।