धनगढी - कैलालीमा भन्सारबाट राजस्व संकलनमा कमी आएको छ। प्रदेशको मुख्य व्यापारिक नाकाका रुपमा मानिने गौरीफन्टा भन्सारबाट पछिल्लो बर्षमा राजस्व संकलनमा कमी आएको हो। १५ वर्षअघि नेपालबाट भारत निर्यात हुने प्रायः सबै वस्तु अहिले भारतबाट आयात भइरहेको छ।
आर्थिक वर्षको पछिल्लो ८ महिनामा १ अर्ब १८ करोड ३५ लाखको चामल मात्र आयात गरिएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । अझ तरकारी र फलफूल पनि १ अर्ब २७ करोड ५३ लाख बराबरको आयात गरिएको छ। ४५ करोड २३ लाखको रायोको दाना नेपाल भित्रिएको छ। धान, तोरी, गेडागुडी, बीउबिजन, घिउ, महदेखि जडीबुटी र फलफूल तरकारीसम्म यो नाकाबाट निर्यात हुने गरेको भएपनि अहिले त्यो अवस्था छैन् । पछिल्लो समय सुदुरपश्चिमबाट टर्पेन्टाइन र कत्थाबाहेक अरू निर्यात हुन छाडेको बताइएको छ।
टर्पेन्टाइन र कत्था पनि बर्सेर्नि दुई करोडभन्दा बढीको निर्यात हुँदैन । जबकि आयात भने तेब्बर बढीले वृद्धि भइरहेको छ । भन्सारबाट नियमित आउने खाद्यान्नबाहेक भन्सार छली गरेर खुला नाकाबाट आउने खाद्यान्न निकै बढी छ । खाद्यान्न, फलफूल रायोको बीउबाहेक चामलको कनिका पनि भारतबाटै आयात गरिएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्षको ७ महिनामा चामलको कनिका २० लाख बराबरको आयात भएको छ । सुदूरपश्चिमको प्रमुख खाद्यबाली मकै पनि भारतबाट आयात हुन थालेको व्यवसायी गौरीदत्त भट्टले बताए । ७ वर्षअघिसम्म पहाडी जिल्लाबाट ठूलो मात्रामा मकै तराई हुँदै भारत निकासी हुने गरेको भएपनी ७ वर्षमै आयात निर्यातको चक्र परिवर्तन भएर मकै पनि भारतबाट आउन थालेको उनले बताए । भन्सार कार्यालयको तथ्यांकमा पनि आर्थिक वर्षको ७ महिनामा भारतबाट २९ करोड २५ लाखको मकै आयात गरिएको छ ।
उनले अहिले हरियो धनियाँसमेत सीमापारिबाट आउन थालेको बताए। भन्सार कार्यालयको अभिलेखअनुसार गत आर्थिक वर्षमा ३ अर्ब बढीको तरकारी मात्र आयात भएकोमा यो आर्थिक वर्षमा तरकारी आयात झन् बढ्ने अनुमान भन्सार कर्मचारीहरुले गरेका छन् । सरकारी तथ्यांकले हरेक वर्ष १३ प्रतिशतले खाद्यान्न उत्पादन वृद्धि भएको देखाउने गरेको छ । व्यवहारमा भने भारतबाट प्रतिवर्ष खाद्यान्न आयातको दर दोब्बरले बढ्न थालेको देखिएको छ । सुदूरपश्चिमका पुराना खाद्यान्न व्यवसायी हरिशंकर जोशीले व्यापारिक नाकाको तथ्यांक व्यावहारिक नभएको र खुला सिमानाबाट भन्सार छली गरेर आउने खाद्यान्नको रेकर्ड भन्सारसँग नभएको बताए। उनले पछिल्लो ५ वर्षमा १० गुना बढी खाद्यान्न आयात हुन थालेको बताए ।
कैलाली र कञ्चनपुरका विभिन्न खुला सिमानाबाट भन्सार छलेर आउने खाद्यान्न पनि सरकारी तथ्यांकमा देखाएभन्दा कम छैन । सुदूरपश्चिमका पहाडी जिल्लामा भन्सार छली गरेर आउने गुणस्तरहीन खाद्यान्न बढी बिक्री वितरण हुने गरेको भएपनी सोको तथ्यांक सरकारी कार्यालयसँग नभएको बताए। आयातमा निकै वृद्धि भए पनि सुदूरपश्चिम प्रदेशमा राजस्व संकलन भने लक्ष्यभन्दा निकै कम भएको भन्सार कार्यालयले जनाएको छ ।प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार कार्यालयका सूचना अधिकृत पवित्र खड्काले आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यको जम्मा ३६ दशमलव ८५ प्रतिशत राजस्व असुली भएको छ ।
भन्सार कार्यालयले यस आर्थिक वर्षमा १२ अर्ब ३० करोड ६६ लाख राजस्व असुल गर्ने लक्ष्य राखेको छ । जसमध्ये माघ मसान्तसम्म ४ अर्ब ५३ करोड ५० लाख मात्र राजस्व असुल भएकाले सो लक्ष्यअनुरूप निकै न्यून रहेको छ। २ वर्षदेखि भन्सार कार्यालयले लक्ष्यअनुरूप राजस्व संकलन गर्न सकेको देखिँदैन । भन्सार कार्यालयको तथ्यांकअनुसार गत वर्ष ११ अर्ब ८२ करोड ३९ लाख राजस्व संकलनको लक्ष्य राखेको थियो तर ९ अर्ब मात्र असुली भएको थियो । यो आर्थिक वर्षका बाँकी ५ महिनामा ८ अर्ब राजस्व संकलन गर्ने चुनौती कार्यालयसँग रहेको छ । मुख्य भन्सार नाकाबाट राजस्व तिरेर आउने सामान र दैनिक राजस्व तिरेर आउने सामानको तेब्बर बढी चोरी तस्करी गरी आउने भएकाले राजस्व संकलनमा कमी आएको कर्मचारीको भनाई छ । भन्सारबाट राजस्व तिरेर आउने सामानमा पनि निकै कम सामानको राजस्व लिइने गरिएको उनले बताए ।
त्रिनगर भन्सार कार्यालयमा कार्यरत एकजना प्रहरी अधिकृत कर्मचारी, सशस्त्र प्रहरी, प्रहरी, व्यवसायी र तस्करको मिलेमतोमा दैनिक ठूलो मात्रामा व्यापारिक प्रयोजनका सामान आयात हुने गरेको बताउँछन् । ‘यो नाकाबाट आयात गरिने सूचीमा नपरेका अधिकांश सामग्री आयात हुने गरेको उनले बताए । सूचीमा रहेका सामान पनि अवैध रूपमा बढी भित्रिने गरेकाले राजस्व संकलन कम हुँदै गएको पाइएको छ । पेट्रोल, हाइस्पिड डिजेल, बिस्कुट, चकलेट, एलपी ग्यास, गहुँ, जर्दा खैनी, चामल र कनिका, प्लास्टिकका सिट, फलामे पाता, छाप्ने कागज, ग्लेज टाइल, ग्लास सिट, भटमासको पिना, आलु, गाडीका टायरसहित २० प्रकारका वस्तु मात्र यो नाकाबाट आयात हुने सूचीमा छन् । यीबाहेक दैनिक उपभोग्य केही सामग्रीबाहेक अरू यो नाकाबाट पैठारी हुने सूचीमा पर्दैनन् । त्रिनगर भन्सार कार्यालयबाट नेपाल भित्रिने सामानको सूचीमा मोटर पार्ट्स पर्दैन, भारतीय उद्योगमा उत्पादन हुने लत्ता कपडा पनि यो सूचीमा छैन । कैलाली, कञ्चनपुरलगायत प्रदेशका नौ वटै जिल्लामा जाने अधिकांश सामान गैरकानुनी रूपमा भित्रिने गरेका छन्।