डोटीका भूकम्पपीडित जोखिममा
2023/03/13, 12:13
 
ss

पूर्वीचौकी गाउँपालिका–३, माझगाउँका जङ्ग बोहराको घर भूकम्पका कारण चिराचिरा परेको छ। भूकम्पपछिका केही दिन पालमुनि बिताएको उनको परिवार पछिल्लो समय सोही घरमा जोखिम मोलेर बस्दै आएको छ।

भूकम्पले त्रिपालमुनि चिसा रात बिताएका बोहरा परिवारजस्तै जिल्लाका अन्य भूकम्पपीडित पनि चर्किएको घरमा बस्न बाध्य छन्। सुरुसुरुमा भूकम्पको निकै डर लाग्ने गरेको भए पनि पछिल्लो समय केही मात्रामा त्रास हटेको बोहराले बताए। “भूकम्प गएको एकरडेढ महिना घरभित्रै पस्न सकेनौँ,” उनले भने, “चिसा रात त्रिपालमुनि जसोतसो कटायौँ। चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक बिरामी हुन थाले। भूकम्प गएको पाँच महिना पुग्दा पनि त्रिपालबाहेकको कुनै विकल्प पाएनौँ र अहिले ज्यानको माया, डरत्रास त्यागेर चर्किएकै घरमा बस्न थालेका छौँ।”

पाडा गाउँ निवासी चन्द्रा बुढा पनि त्रिपालको बास छाडेर भूकम्पले चिराचिरा पारेको जीर्ण घरमा बस्दै आउनुभएको छ। तीनरचार महिनासम्म त्रिपालमुनि बस्दा पनि अस्थायी टहराको समेत व्यवस्था हुन नसकेपछि त्रासैत्रासमा जीर्ण घरमा बस्नु परेको उनले बताए । “भूकम्प आइहाल्यो भने भाग्न सजिलो होला भनेर घरको तल्लो तलामा ढोकामा सिरानी राखेर निदाउने गरेका छौँ,” उहाँले भन्नुभयो, “हाम्रा छिमेकी पनि हामीजस्तै भूकम्प आउला र भागौँला भनेर अर्को भूकम्प कुरिरहेका छन्।”  

डोटीमा भूकम्पले मानवीय तथा भौतिक क्षति गरेको पाँच महिना पुगेको छ। गत कात्तिक २२ र २३ गते गएको भूकम्पका कारण जिल्लाका पाँच सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने साढे चार हजार घर चर्केका थिए। नेपाल रेडक्रसको तथ्याङ्कअनुसार सबैभन्दा बढी क्षति पूर्वीचौकी गाउँपालिकामा भएको छ। 

पूर्वीचौकीमा दुई हजार सात सयभन्दा बढी घरधुरी प्रभावित भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए। तत्कालका लागि घरमा पूर्ण क्षति भएका र परिवार गुमाएकाका लागि टिनले बनेका अस्थायी टहरा निर्माण गरिए पनि पुनर्निर्माणको काम अगाडि बढ्न सकेको छैन। कात्तिकको भूकम्पपछि डोटीका स्थानीय झनै जोखिममा रहेको जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण सिंहले बताए ।   ढुङ्गा र माटोबाट बनेका पुराना जीर्ण घरहरू यसअघिको भकम्पले कमजोर पारिसकेको छ। अब आउन सक्ने सम्भावित मध्यम श्रेणीको भूकम्पले नै ठूलो क्षति पु¥याउने सम्भावना रहेको उनले चिन्ता व्यक्त गरे । 

विज्ञहरूले डोटी भूकम्पलाई खतराको घण्टीका रूपमा लिनुपर्ने बताउँदै आएका छन्। खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक सोमनाथ सापकोटाले पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नआएको बताउँदै इन्डिएन प्लेटमा पर्ने सुदूरपश्चिम र आसपासको क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको बताउनुभयो। यस्ता भूकम्पलाई खतराको घण्टीका रूपमा बुझेर विपत्‍को पूर्वतयारीको योजना बनाएर काम गर्नुपर्ने उनको सुझाव छ।  “भूकम्पपछि मुलुक निर्वाचन, सरकार गठन, सत्ता भागबन्डामा व्यस्त भयो,” भूकम्पपीडित वीरेन्द्र उपाध्यायले भने, “हाम्रो पीडा हामीसँगै रह्यो। सरकारले राहत, पुनर्निमाणमा जति तदारुकता देखाउनुपर्ने हो, त्यो देखिएन।”   गोरखापत्र