कञ्चनपुरमा नेविसंघ, अनेरास्ववियु र क्रान्तिकारीको बराबरी जित
2023/03/20, 11:35
 
कञ्चनपुरमा नेविसंघ, अनेरास्ववियु र क्रान्तिकारीको बराबरी जित

धनगढी - आइतबार स्ववियु निर्वाचन भएका कञ्चनपुरका ६ वटै क्याम्पसको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन परिणामअनुसार ६ मध्ये नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले बराबरी जित निकालेका छन् ।

नेपाली कांग्रेस निकट नेविसंघबाट महाकाली बहुमुखी क्याम्पस बेलौरीको स्ववियु अध्यक्षमा नीरज भण्डारी र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीको अध्यक्षमा कृष्णराज जोशी निर्वाचित भएका छन् ।

नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडीको अध्यक्षमा दिलेन्द्रप्रसाद बडू र कञ्चन बहुमुखी क्याम्पस गुलरियामा देवबहादुर साउँद स्ववियु सभापतिमा निर्वाचित भए भने नेकपा माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु(क्रान्तिकारी) बाट जनता क्याम्पस पुनर्वासको अध्यक्षमा मनोज साउँद र रामपुर बहुमुखी क्याम्पस कलकत्तामा सरस्वती तिरुवा निर्वाचित भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण आइतबार मतदान हुन सकेको छैन ।