सुदूरपश्चिमका चारवटा सहरका सडक स्तरोन्नतिमा ढिलाइ
2023/03/22, 11:48
 
सुदूरपश्चिमका चारवटा सहरका सडक स्तरोन्नतिमा ढिलाइ

धनगढी - एसियाली विकास बैंकको ऋण सहयोगमा सुदूरपश्चिमका चारवटा सहरको पूर्वाधार विकासअन्तर्गतको सडक स्तरोन्नतिको काम कछुवा गतिमा भइरहेको छ । धनगढी उपमहानगरपालिकामा साउनमै सकिने करिब ४६ किलोमिटर ढल, नालीसहितको सडकको हालसम्म ६३ प्रतिशत मात्रै प्रगति भएको छ ।

निर्माण कम्पनीलाई दोस्रो पटक असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ । बाँकी ४० प्रतिशत अहिलकै गतिमा काम भएमा निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्न मुस्किल देखिएको छ । निर्माण कम्पनी र सहरी विकास कार्यान्वयन इकाइ तथा संघीय सहरी विकास आयोजनाले भने अन्तिम समय सीमाभित्र काम पूरा गरिसक्ने दाबी गरेका छन् ।

सहरी विकास कार्यान्वयन इकाइ प्रमुख रमेश थिङले थप म्याद दिएको असार मसान्तसम्मको सीमाभित्र निर्माण कम्पनीले काम सक्ने अपेक्षा गरेका छन् । एडीबीको सहयोगमा धनगढी उपमहानगर, भीमदत्त नगर, शुक्लाफाँटा र गोदावरी नगरभित्रको करिव ४५.६९ किलोमिटर सडकको स्तरोन्नतिको काम भइरहेको हो । आयोजनाका इन्जिनियर सञ्जीवकुमार शाहका अनुसार कालिका कन्स्ट्रक्सनले धनगढी उपमहानगरपालिकाभित्र १०.२५ किमि सडक र सडकको दुवैतर्फ २०.४५ किमि नाली निर्माणको ठेक्का सम्झौता गरेको छ । जसमध्ये फागुन १६ गतेसम्मको प्रगति ६३.३१ प्रतिशत मात्रै भएको छ । कम्पनीले उक्त ठेक्का २ पटक म्याद थप गरेको छ । अन्तिम थप म्यादको समय असार मसान्तसम्म छ ।

२०७७ असार २८ मा कालिका कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । जसमध्येको धनगढी चौराहदेखि कैलाली खोलासम्मको १ हजार ३८० मिटर मुख्य सडकको २४ मिटर चौडाइमा स्तरोन्नति गर्ने ठेक्काको निर्माण कार्यको सुरुवात भर्खर एक साताअघि मात्रै गरेको छ । निर्माण कम्पनीले म्याद थप्ने प्र्रस्तावअघि मुख्य सडकको कैलाली पुलदेखि नाला बनाउने कामको सुरुवात मात्रै गरेको हो ।

निर्माण कम्पनीको दोस्रो पटक थपिएको म्यादसमेत २०७९ पुस २५ गते सकिएको थियो । ठेक्का सम्झौताको पहिलो म्याद २०७९ साउन १८ गतेसम्म मात्रै रहेको थियो । उक्त कम्पनीले धनगढी उपमहानगरपालिकाभित्रको १०.२५ किमिअन्तर्गत ठेक्का सम्झौताको ७ वटा सडक स्तरोन्नति रहेको थियो । कम्पनीले कुल ठेक्का समझौता ७६ करोड ९० लाख ७६ हजारमा लिएको थियो ।

कालिकाले गोदावरी नगरपालिकाभित्रको सहरी सडक तथा नाला निर्माणको काम पनि सम्पन्न गर्न सकेको छैन । गोदावरीमा ७२ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । गोदावरीमा ठेक्का समझौताअनुसार १६.५३ किमि सडक कालोपत्रे गर्नुपर्नेमा हालसम्म १०.६६ किमि मात्रै पूरा गरेको छ । १०.३०५ किमि नाला निर्माण गर्नुपर्नेमा ९.४९४ किमि मात्रै पूरा गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिककाको कुल २२.७१ नाला र १४. १४ किमि सडक निर्माणको ठेक्का जेडआईईसी जेभी कम्पनीले ९९ करोड १८ लाख ४४ हजार ४ सय ४९ मा २०७७ असार २८ मा सम्झौता गरेको थियो । उक्त कम्पनीको २ पटक म्याद थप भएको छ । कुल भौतिक प्रगति ६३ प्रतिशत मात्रै भएको छ । नाला २२. ७१ किमि बनाउनुपर्नेमा हालसम्म १८ किमि मात्रै काम भएको छ ।