‘पढाइ कुना’ स्थापना गरेर घरमै पढाई सञ्चालन
2023/03/24, 12:34
 
ss

भित्तामा छोराछोरीलाई पढाउन बानी विकास गर्न अपनाउनुपर्ने व्यावहारिक चित्रसहितको पोस्टर छ । तल कापी, कलम राख्ने टेबुल छ । छेउमा बस्ने व्यवस्था बनाइएको छ दृश्य हो कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ स्थित बाणीकी विष्णा रावलको घर ।

विष्णाकी छोरी रिद्धिमालाई नियमित पढाइतर्फ लगाव बढाउन विष्णाले सजावट गरेकी हुन् । घरको कोठाभित्र रिद्धिमा छिर्नेबित्तिकै त्यहीँ गएर विद्यालयमा सिकाएका कुरा कापीमा सार्छिन् र किताब पढ्छिन् । उनलाई त्यहाँ पुग्नेबित्तिकै किताब पढ्नुपर्छ भन्ने ज्ञान दिने यो स्थानलाई भन्छिन्– ‘पढाइ कुना ।’

आफू पढाइ नगरेकी विष्णाले छोरीको शिक्षातर्फ ध्यान दिन सकेकी थिइनन् । कहिल्यै विद्यालय नदेखेकी उनको प्रतिक्रिया हुन्थ्यो, ुआफू पढ्न त सक्दैन, छोरीलाई के भनेर पढाउने ?’

शहरबजारभन्दा केही भित्र रहेको विष्णाको घर सानो र लिपेर चिटिक्क पारिएको छ । झण्डै एक वर्षअघि उनले छोरीका लागि ‘पढाइ कुना’ बनाएर आफू पनि शिक्षा लिन पाइरहेकी छिन् भने छोरीलाई पढ्ने बानीको विकास पनि गराइरहेकी छिन् ।

‘हामीलाई पढाइ कुनाका बारेमा थाहा थिएन । पहिले छोरी स्कुलबाट आएपछि झोला नै कता फालेर साथीभाइसँग खेल्न जान्थी,’ उनी एक वर्षअघिका कुरा स्मरण गर्दै भन्छिन्, ‘तर, अहिले आफ्ना सबै सामान पढाइ कुनामै राख्ने गर्छिन् । हरेक क्रियाकलाप आफ्नै पढाइ कुनामा गर्ने गर्छिन् ।’

रिद्धिमा कक्षा २ मा पढ्दै आएकी छिन् । ‘पढाइ कुना’ले रिद्धिमा मात्र होइन, विष्णालाई पनि शिक्षा आर्जन गर्न सहज भएको छ । ‘पहिले भनेपछि मात्रै छोरी पढ्न मान्थी । अहिले भन्नुपर्दैन, विद्यालयबाट आउनेबित्तिकै पढ्नतर्फ ध्यान दिइरहेकी छिन्,’ विष्णा भन्छिन् ।

विष्णाजस्तै गीता डगौराले पनि छोरीका लागि ‘पढाइ कुना’ बनाएकी छिन् । गीताकी जेठी छोरी कक्षा ५ र कान्छी २ कक्षामा अध्ययनरत छन् । ‘पहिले धेरै घुम्ने बच्चाहरू अहिले कम घुम्ने र बढी पढाइ कुनामा रमाउने गर्छन् । विद्यालयको गृहकार्य सकिएपछि चित्र कोर्ने, पेन्टिङ गर्ने, पढ्नेलगायतका काम ‘पढाइ कुना’ मा गर्छन्,’ गीता भन्छिन्, ‘हामीले धेरै पढेका पनि छैनौँ । त्यही पनि पढाइ कुना बनाएदेखि उनीहरूकै सामु बसेर सुन्ने र बुझ्ने गर्छौं ।’

गीताले छोराछोरी पहिले के गर्छन् भन्ने त्यति चासो नलिने गरेको बताउँदै भनिन्, ‘तर, आजभोलि आफूले पनि हेर्ने गरेका छौँ । पढ्न नआए पनि उनीहरूले पढेको कुरा सुनाउने र बनाएका चित्रहरू देखाउने गरेका छन् ।’

कृष्णपुर– २ बाणीकी सरस्वती धामीले पढाइ कुना बनाएपछि छोरा धेरै घुम्न नजाने र पढाइ कुनामै बसेर पढ्ने गरेको सुनाइन् । ‘उनीहरूले पढाइमा बढी ध्यान दिने गरेका छन्, आफ्नो कोठामा चित्र बनाउने र चप्काउने गर्छन् । विद्यालयमा पढेका कुरा घरमा आएर हामीलाई पनि सुनाउने गर्छन्,’ उनी भन्छन्, ‘पढाइ कुना कस्तो हुन्छ भन्ने लाग्थ्यो रु तर, यस्तो होला भन्ने सोचेका थिएनौँ ।ु

‘पढाइ कुना’ बालबालिकाले छुट्टै पढ्ने स्थान हो । जहाँ बालबालिका आफूले निर्माण गरेका सामग्री, आफ्ना विद्यालयका सामग्री उनीहरूले आफूले निर्माण गरेका चित्रहरू भित्तामा टाँसेका देख्न सक्छौँ । पढाइ कुना जहाँ पनि निर्माण गर्न सकिन्छ । उनीहरूले सुत्ने कोठाको एउटा छेउमा बेड राखेर वरिपरि उनीहरूले बनाएका चित्रहरू टाँसेर ‘पढाइ कुना’लाई आकर्षक बनाउन सकिन्छ । सुन्दा सामान्य लाग्ने अभ्यासले बालबालिकाको पढाइमा त सुधार आउँछ नै, उनीहरूले अनुशासन र जिम्मेवारी पनि सिक्ने गर्छन् ।

कक्षा १ देखि कक्षा ३ सम्मका बालबालिकाको राम्रो सिकाइका लागि र पठन सीप विकासका लागि अहिले वर्ल्ड भिजन इन्टरनेसनल नेपालअन्तर्गत बालबालिकाको पढाइ सुधारका लागि समुदाय र सामाजिक परिवर्तन परियोजना कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका १५ वटा विद्यालयअन्तर्गतका समुदायहरूमा सञ्चालन भइरहेका छन् ।

२०७८ फागुनको पहिलो साताबाट श्री शिद्धनाथ बालटरी आधारभूत विद्यालयमा पनि सामाजिक परिवर्तन परियोजना सुरु भयो । वर्ल्ड भिजनको सहयोगमा सुरु भएको यस शिविरमा अहिले करिब ७५ जना विद्यार्थी छन् ।

१ देखि ३ कक्षासम्मका बालबालिका यस कक्षामा सहभागी हुन्छन् । उनीहरू शनिबारका दिन शिविरमा पढ्छन् । उनीहरूले शनिबारको दिन करिब २ घण्टासम्म पढ्ने गरेको सहजकर्ता मनीषा थापाले बताइन् ।  उज्ज्वल भविष्य शिविरमा बालबालिकालाई कविता, गीत र  चित्रबाट पढाइने गरिन्छ जसले गर्दा उनीहरू पनि यस कक्षामा सहभागी हुन पाउँदा निकै खुसी हुन्छन् ।  सहजकर्ता मनिषा थापाले अहिले उक्त शिविरमा तीन जना सहजकर्ताले पढाइ रहेको बताइन्  । एक जनाले २० देखि २५ जनालाई पढाउने  गर्छौं । पूजा सुनार र लक्ष्मी खातीले पनि यस शिविरमा पढाउँछन् ।

पहिले उनीहरू केही थाहा पाउदैनन् थिए तर यस शिविरमा आएपछि उनीहरूमा धेरै परिवर्तन आएको सहजकर्ता मनीषाले बताइन् । बालबालिकाका अभिभावकलाई पनि राखेर छलफल गरेपछि उनीहरूका लागि पढाइ कुना निर्माण गर्न लगाएपछि अहिले सबै अभिभावकले यस्तो गरेको उनले बताइन् ।

‘सबैको भित्र गएर त हेरेका छैनौँ । तर, केहीका घरमा गएर हेरेका थियौँ,’ उनले भनिन्, ‘उहाँहरूले आफ्ना नानीबाबुका लागि पढाइ कुना बनाएका छन् । पढाइ कुनामा उनीहरूले शिविरमा बनाएका चित्रहरू भित्तामा टाँस्ने र आफ्ना सामान मिलाएर राख्ने गर्छन् ।’ उनीहरूलाई कपि, पेन्सिल, कलरलगायत शैक्षिक सामग्री विद्यालयबाटै उपलब्ध गराइने गरेको हुँदा अझै सहज भएको छ ।

‘पढाइ कुना’ जस्तो राम्रो अभ्यास अरु क्षेत्रमा पनि हुन जरुरी देखिने अभिभावक बताउँछन् । वर्ल्डभिजन इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकार, कृष्णपुर नगरपालिकाको समन्वयनमा यो कार्यक्रम सञ्चालनमा छ ।  नानीबाबुहरूलाई विद्यालय पठाउन अभिप्रेरित गर्ने नाटक, नानी बाबुहरूसँग गर्नुपर्ने व्यवहार, उनीहरू पठन सीप, सिकाइका विधि र दैनिक जीवनमा प्रयोग हुने सामग्रीको उपयोग, तिनको नाम र प्रयोग गर्ने विधिका विषयमा यहाँ पढाइ हुने गर्छ ।