कैलाली - कञ्चनपुरको बेदकोटमा निर्माण गर्ने भनिएको १५ शय्याको अस्पताल भवन निर्माण कार्य अलपत्र परेको छ। नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा निर्माण व्यवसायी भीमबहादुर साउदले ८५ लाख रुपैयाँ पेस्की लिएर गएपनी १५ शय्याको अस्पताल भवन निर्माण निर्माण कार्य नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन्।
उनीहरुले बेदकोट नगरपालिकाले अस्पताल भवन निर्माण कार्यमा चासो नदिएको भन्दै नगरपालिका कार्यालयमा धर्ना दिएका छन्। २०७७ सालमा शिलान्यास गरेर २०७९ सालको चैत्र मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि अहिलेसम्म कुनै काम अगाडि नबढेको भन्दै स्थानीय आन्दोलित भएका हुन्।बेदकोट नगरपालिकाको दैजीमा निर्माण गरिने भनिएको उक्त अस्पताल भवन लामो समय बितिसक्दा पनि सुरु गरिएको छैन्।
साउदको राजेन्द्र निर्माण सेवासँग भवन निर्माणको ठेक्का सम्झौता भएको थियो। बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले उक्त निर्माण कम्पनीसँग करिब १४ करोडमा ठेक्का सम्झौता भएपनि हालसम्म काम सुरु नगरिएको बताए। काम सुरु गर्न पटक–पटक ताकेता गरिरहेपनि काम सुरु नभएको उनले बताए। २०७७ सालमा शिलान्यास गरेर २०७९ सालको चैत मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि साउदको कम्पनी राजेन्द्र निर्माण सेवाले कामै सुरु नगरेको भन्दै स्थानीय आक्रोशित छन्। बेदकोट १५ शय्या अस्पताल निर्माण संघर्ष समिति गठन गरेरै स्थानीय आन्दोलनमा उत्रिएका छन्।
नगरपालिकालाई फागुन २९ गते लिखित मागपत्र बुझाएको र चैत्र ४ गतेसम्ममा अस्पताल निर्माण प्रक्रिया सुरु गर्न माग गरिएपनि नगरपालिकाले चासो नदिएको संघर्ष समितिका संयोजक खगेन्द्र नाथले बताए। राजेन्द्र निर्माण सेवाले ८५ लाख पेस्की लिएर अहिले काम अलपत्र पारेको उनले बताए । बेदकोट १५ शय्या अस्पताल निर्माण संघर्ष समितिले फागुन २९ गते लिखित रुपमा चैत्र ४ सम्ममा अस्पताल निर्माण प्रक्रिया सुरु गर्न माग गरेको थियो। त्यसपछि पनि नगरपालिकाले चासो नदिएको भन्दै धर्ना दिइएको समितिका संयोजक खगेन्द्र नाथले जानकारी दिए । उनले अहिलेसम्म नगरपालिकाले यस विषयमा चासो नदिएको बताए। राजेन्द्र निर्माण सेवाले ८५ लाख पेस्की दिएर अहिले काम अलपत्र पारेको भन्दै तत्काल अगाडि बढाउन उनले माग गरे। कार्यालयमा २ घण्टा धर्ना दिएको संघर्ष समितिले अझै माग सम्बोधन नभए १४ गते निर्माण कम्पनीको सम्पर्क कार्यालय घेराउ र निर्माण सामग्री जफत गर्ने, २० गते नगरपालिकामा तालाबन्दी गर्ने र २५ गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने जनाएको छ।