‘सुदूरपश्चिममा आयातित कोरोनाका कारण ८० प्रतिशत युवाहरु कोरोना संक्रमित’
2020/07/01, 8:26
 
korona

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या २५३१ जना पुगेको छ । तर सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकमा भने २४८३ जना रहेका छन् । ४८ जना कोरोना संक्रमितको कुनै पनि सुचना निर्देशनालयले तथ्यांक राखेको छैन् । जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं तथा कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा कोरोना पुष्टि भएकाहरुको निर्देशनालयको तथ्यांकमा छुटेका छन् । 

यस अघि चैत १४ गतेदेखि वैशाख १ गतेसम्म ५ जना मात्रै संक्रमित रहेका थिए । उनीहरु सवै जना कोरोनालाई जितेर घर फर्किएसकेका छन् । पछिल्लो डेढ महिनामा यो संख्या दुई हजार पाँच सय भन्दा वढी पुगेको छ । अझ असारको दुई सातामा मात्रै दुई हजार दुई सय वढी जनामा कोरोना पुष्टि भएको छ । कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएका धेरै नमुनाहरु जाँच गर्न बाँकी रहेकोले संक्रमित थपिने सम्भावना रहेको सम्बद्धहरु बताउँछन् ।

परिक्षणको दायरा वढाउँदै लगिएकोले संक्रमित संख्या वढ्न सक्ने सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । उनका अनुसार धनगढी प्रयोगशालामा कोरोना परिक्षणका नमुनाहरुको चाप लागेपछि पाँच हजार एक सय २३ जनाको नमुनाहरु थुप्रिएपछि परिक्षणका लागि काठमाण्डौं समेत पठाउन थालिएको छ । 

युवालाई सवैभन्दा बढी कोरोना
राष्ट्रिय युवा निति अनुसार १६ बर्षदेखि ४० बर्षसम्मको उमेर समुहलाई युवा मानिन्छ । राष्ट्रिय युवा निति २०६६ मा “युवा” भन्नाले १६—४० वर्षको उमेर समूहका महिला, पुरूष तथा तेस्रो लिङ्गीहरूलाई जनाउने उल्लेख गरिएको छ । युवालाई देशको कर्णधार मानिन्छ । पछिल्लो समय देश संघीयतामा गएपछि सुदुरपश्चिम प्रदेश सरकारले युवालाई प्रदेशको खम्बा मानेको छ । तर सुदुरपश्चिम प्रदेशमा युवा उमेर समुह नै सवैभन्दा वढी कोरोनाबाट संक्रमित भएको छ । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदुरपश्चिम प्रदेशका संक्रमितमध्ये सवैभन्दा वढी युवा उमेर समुहका छन् । सुदुरपश्चिमका जम्मा संक्रमितमध्ये युवा उमेर समुह अर्थात १६ बर्षदेखि ४० बर्षसम्मका २००६ जना कोरोना संक्रमित भएका छन् । यो कुल संक्रमितको ८० प्रतिशतभन्दा वढी हो ।

१६, १७, १८ र १९ बर्षका २४७ जना युवामा कोरोना संक्रमण भएको छ । यो कुल संक्रमितको साढे ९ प्रतिशतभन्दा वढी हो । १० बर्षदेखि १९ बर्ष उमेर समुहका पनि ३०९ जनालाई कोरोना भएको छ । उनीहरुमध्ये ११, १२ १३, १४ र १५ बर्षका किशोर कम संख्यामा रहेका छन् भने १६ देखि १९ बर्षकै वढी संक्रमित भएका छन् । जानकारहरुका अनुसार सुदुरपश्चिमका युवाहरु किशोर अवस्थामै रोजगारीका लागि भारत जाने गरेका छन् । विभिन्न बाध्यता र परिस्थितिले पढाई बीचमै छोडेर भारत जाने र कमाउने उमेरसम्म भारतमै काम गर्ने गरेका कारण युवा उमेर समुह बढी संक्रमित भएको जानकारहरु बताउँछन् । 

सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदुरपश्चिमका संक्रमित मध्ये ९ वर्षसम्मका १७५ जना रहेका छन् । युवा र किशोरपछि वढी प्रभावित बालबालिकाहरु भएका छन् । यो भन्दा बढी ४० देखि ४९ जनाका संक्रमितहरु वढी रहेका छन् । १० देखि १९ वर्ष उमेर समूहका ३०९ जना, २० देखि २९ बर्ष उमेर समुहका १११२ जना, ३० देखि ३९ बर्ष उमेर समुहका ५४७ जना, ४० देखि ४९ बर्ष उमेर समुहका २०३ जना, ५० देखि ५९ बर्ष उमेर समुहका ९६ जना ६० देखि ६९ बर्ष उमेर समुहका ३१ जना र ७० देखि ७९ बर्ष उमेर समुहका १० जना संक्रमित रहेका छन् । बालबालिका र वृद्ध वृद्धाहरुमा प्रतिरोधक क्षमता कम भएका कारणले संक्रमित भएपनि युवाहरु भने सावधानी नअपनाउँदा वढी संक्रमित भएको सेती प्रादेशिक अस्पतालको कोरोना विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले बताए ।

अधिकांश संक्रमितहरु भारतबाटसँगै आएको, सीमामा घुलमिल भएको एउटै गाडी प्रयोग गरेको र एउटै क्वारेन्टिनमा वसेकाहरु पाईएकोले पनि वढी संक्रमण फैलिएको डाक्टर कमरको भनाई छ ।  सुदुरपश्चिममा सवैभन्दा कम उमेर जन्मेको चार दिन भएको शिशुलाई कोरोना भएको छ भने सवैभन्दा वढी ७६ बर्षको वृद्धलाई कोरोना भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । सुदुरपश्चिममा ११ महिनाका वालकदेखि ९ बर्षसम्मका वालवालिकालाई पनि कोरोना भएको उनले बताए । जेष्ठ नागरिकहरुलाई पनि विभिन्न रोगहरुको समस्या रहने गरेका कारण उनीहरुलाई पनि संक्रमणले समात्ने गरेको श्रेष्ठको भनाई छ ।  

२० देखि २९ बर्षको उमेर समुह सवैभन्दा वढी संक्रमित
कोरोना संक्रमित मध्ये सवैभन्दा वढी २० देखि २९ बर्ष उमेर समुहका भएका छन् । कुल संक्रमितका झण्डै आधा भाग यो उमेर समुहकै रहेका छन् । सवैभन्दा वढी २० देखि २९ बर्षका १११२ जना संक्रमित रहेका छन् । त्यसपछि दोस्रो नम्बरमा ३० देखि ३९ बर्ष उमेर समुहका संक्रमित वढी रहेका छन् । सो उमेर समुहका ५४७ जना कोरोना संक्रमणमा परेका छन् । तेस्रो नम्बरमा भने किशोर अवस्थाका युवाहरु संक्रमित भएका छन् । यो भनेको १० देखि १९ बर्ष उमेर  समुह हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार यस उमेर समुहका ३०९ जनामा कोरोना संक्रमण भएको छ । सुदुरपश्चिम प्रदेशमा ४० देखि ४९ बर्ष उमेर समुहका  २०३ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै सवैभन्दा कम भने ७१ देखि ७९ बर्षका वृद्धहरुमा संक्रमण देखिएको छ । हालसम्म यो उमेर समुहका १० जनामा कोरोना भएको छ ।  त्यसैगरी ४० बर्षदेखि ४९ बर्षसम्मका २०३ जना ५० देखि ५९ बर्षका ९६ जना जन्मदेखि ९ बर्ष उमेर समुहका १७५ जना संक्रमित भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

आयातित कोरोना भएका कारण युवा बढी संक्रमितः चिकित्सक
संसारका अधिकांश देशहरुमा वृद्धवृद्धालाई कोरोनाले प्रभावित पारेको छ । तर नेपाल र सुदुरपश्चिममा भने युवालाई कोरोनाले बढी प्रभावित गरेको छ । अधिकांश युवाहरु भारतबाट आएको, लामो समय एकै उमेर समुहमा क्वारेन्टिनमा वसेका कारण युवालाई वढी संक्रमण गरेको चिकित्सकहरुले बताएका छन् । सेती प्रादेशिक वार्डका जनरल फिजिसियन डाक्टर निराजनदत्त शर्माले नेपालमा कोरोना आयातित भएको र अधिकांश युवा उमेर समुहका नेपालीहरु रोजागरीका लागि गएको अवस्थामा उनीहरु फर्किएपछि युवा उमेर समुहलाई वढी आक्रमण गरेको बताए ।