बैतडीमा यु-१६ क्रिकेट छनौटः १८ खेलाडी बन्द प्रशिक्षणमा
2023/03/28, 1:40
 
बैतडीमा यु-१६ क्रिकेट छनौटः १८ खेलाडी बन्द प्रशिक्षणमा

बैतडी - बैतडी जिल्लाको १६ वर्षमुनीको क्रिकेट टोलीको छनौटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।  तीनदिनसम्म देहिमाडौंमा सञ्चालन भएको छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी दिनुभयो । बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदिप कार्की, हर्ष कार्की, सचिन भट्ट, कल्पेश चन्द,आयुश चन्द, अशोक नाथ योगी, दिपेश पाण्डे, विक्रम बोहरा, जित्तु थापा,भुपेश चन्द,विनोद लावड,रुपेश साउँद,निखिल चन्द, हेमन्त धामी र रोशन चन्द छनौट भएका हुन् ।  

यहाँका पालिकाहरुबाट आएका खेलाडीबाट टोली बनाएर यसअघि प्रतिस्प्रर्धा गराइएको र त्यसपछि खेलाडी छनौट गरिएको  बैतडी जिल्ला क्रिकेट संघको सचिव सिद्धराज वोकटीले जानकारी दिनुभयो ।  सहभागी हुन आउने खेलाडीलाई अनिवार्य रुपमा उमेर खुल्ने कागजपत्र ल्याउन आग्रह गरेको छ । बन्द प्रशिक्षणको मिति केहि दिनमै तोकिने र प्रशिक्षण देहिमाडौंस्थित निंग्लाशैनी खेल मैदानमा सञ्चालन हुनेछ ।  प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा जिल्ला टोली घोषणा गरिने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताउनुभयो ।  

छनौट भएको जिल्लाको टोलीले प्रदेशस्तरीय छनौट प्रतियोगिता खेल्नेछ ।  नेपाल क्रिकेट संघले  मलेशियामा हुने १६ वर्षमुनीको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला छनौट चैत १५ भित्र गरिसक्न निर्देशन दिएको थियो ।  एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेशियामा हुनेछ । सोहि प्रतियोगितामा नेपाल पनि सहभागि हुने नेपाल क्रिकेट संघले जनाएको छ ।