राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
2023/03/30, 12:03
 
सरकारले बालबालिकाका लागि आउँदो वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

धनगढी - सरकारले बालबालिकाका लागि आउँदो वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लालले जानकारी दिए ।

उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ ।महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ ।

सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ ।