सुदूरपश्चिम यु-१६ क्रिकेट प्रदेश छनोट प्रतियोगिता अछाममा हुने
2023/04/05, 11:18
 
ss

१६ वर्षमुनिको सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता अछाममा हुने भएको छ। उक्त छनोट प्रतियोगिता यही चैत २८ गतेदेखि हुनेछ। सहभागी हुने ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए। समूह ‘ए’मा कैलाली, बैतडी, डडेल्धुरा र दार्चुला तथा समूह ‘बी’ मा कञ्चनपुर, अछाम, डोटी र बझाङ रहेका छन्।

अछामको साँफेबगरस्थित मैदानमा प्रतियोगिताको उद्घाटन खेल अछाम र डोटीबिच हुनेछ। सोही दिन अर्को खेलमा कञ्चनपुर र बझाङले भिड्ने छन्। भट्टका अनुसार आगामी वैशाख ४ गते सेमिफाइनलका खेल हुनेछन् भने वैशाख ५ गते उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा प्रदेश टोलीको घोषणा हुनेछ। उक्त टोलीले यु(१६ राष्ट्रिय प्रतियोगिता खेल्नेछ। नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको एसिया पूर्वी क्षेत्रीय प्रतियोगितालाई ध्यानमा राख्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय छनोट प्रतियोगिता गरिरहेको छ।