धनगढीमा स्थानीय तरकारी उत्पादनलाई प्रोत्साहन गर्न भारतीय विषादीयुक्त तरकारी बेच्न रोक
2023/04/08, 12:37
 
ss

धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा तरकारी बिक्री गर्न परिचयपत्र आवश्यक पर्ने भएको छ। धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडि रहेको हाटबजारमा तरकारी बिक्री गर्न किसान परिचयपत्र आवश्यक पर्ने भएको हो ।

आर्थिक वर्ष २०७०/७१ देखि १० वर्षका लागि सिर्जनशील समाजको सिर्जना सिसिएस नामक संस्थाले हाटबजार सञ्चालन गर्दै आएको छ । त्रिनगर हाटबजारमा ठूला व्यापारीहरूले रजाइँ गर्न थालेपछि नयाँ नियम बनाउन लागिएको धनगढी उपमहानगरपालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए। उनले भने, ‘हाटबजारमा कृषकले आफ्नो उत्पादन बेच्ने हो । कृषक कोहो भनेर पत्ता लगाउन वडाबाट कृषकको नामावली मागेका छौँ । हाटबजारमा आफ्नो उत्पादन बेच्नेको नाम आउँछ । हामी उहाँहरूलाई परिचयपत्र दिन्छौँ ।’


धनगढीको त्रिनगर माध्यमिक विद्यालयको जमिनमा सञ्चालनमा रहेको हाटबजारको आम्दानीको ७० प्रतिशत विद्यालयले पाउने सम्झौतामा उल्लेख छ । ९सिसिएस० नामक संस्थाले सञ्चालन गर्दै आएको हाटबजारमा तरकारी, फलफूल तथा कृषि उत्पादन बिक्रीका लागि कुनै नियम नै बनाएको थिएन । धनगढी उपमहानगरपालिकाले भारतीय तथा ठूला व्यापारीहरूले रजाइँ गर्दै आएका भन्दै नयाँ नियम लागू गर्ने भएको हो।


जसअनुसार त्रिनगर हाटबजारमा कृषि उपज बिक्रीका लागि किसान परिचयपत्र अनिवार्य गर्न थालिएको हो। हाटबजारमा हाल एक हजार बढीले व्यापार गर्न अनुमति पाएका छन् । धनगढी उपमहानगरपालिका क्षेत्रका किसानलाई हाटबजारमा कृषि उपज बिक्रीका लागि पहिलो प्राथमिकता दिइने उपमहानगरले जनाएको छ । पहिलो चरणमा धनगढीका किसानलाई प्राथमिकता दिने र त्यसपछि मापदण्ड बनाएर अन्य पालिका तथा पहाडी जिल्लाका किसानका तरकारीलाई प्राथमिकता दिने उहाँको भनाइ छ ।

किसान उत्साहित
धनगढी उपमहानगरपालिकाले भारतबाट ल्याइएका तरकारी, फलफूल हाटबजारमा बिक्री गर्न रोक लगाएपछि स्थानीय किसान उत्साहित बनेका छन् । भारतीय तरकारीले एकछत्र राज गरिरहेको बेला उपमहानगरपालिकाको निर्णयसँगै किसान उत्साहित बनेका हुन् । किसानले अब स्वदेशी उत्पादन बढ्ने बताएका छन् । भारतबाट आयात हुने तरकारीलाई विस्थापन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उपमहानगरको नीतिअनुसार बिक्री रोक लगाइएको हो ।

साताको तीन दिन लाग्ने ‘हाटबजार’मा भारतबाट ल्याइएका तरकारी र फलफूलले हाटबजार स्थल भरिभराउ हुँदा आफ्नो खेतबारीमा उब्जाएर बिक्री गर्न आउने किसानलाई स्थान र मूल्य पाउन सकस हुने गरेको थियो । नेपालमा उत्पादन भएको तरकारीभन्दा सस्तो र आकर्षक देखेर भारतबाट ल्याइएको तरकारी आफ्नो भान्सामा लगेर उपभोक्ताहरू उल्लेख्य मात्राको विषादी भएको तरकारी खान विवश हुने गरेका थिए ।

‘भारतबाट विषादी मिसाएर ल्याएको तरकारीको सट्टा धनगढी कै किसानले उत्पादन गरेको आर्गानिक तरकारी खान पाउने भए’ हाटबजारमा तरकारी किन्न आउनुभएका प्रमोद पनेरुले भन्नुभयो । हामी उपभोक्ताले पनि ताजा तरकारी खान पाउने भयौँ । भारतबाट आउने तरकारीमा कति विषादी मिसाइएको छ भन्ने कसैलाई थाह हुँदैन । भारतीय तरकारी सस्तो र हेर्दा आकर्षक हुने भएकाले पहिले हाटबजारमा आउने अधिकांश उपभोक्ताले त्यही तरकारी किन्ने गरेका थिए ।

‘भारतबाट आएको तरकारीमा विषादी प्रयोग हुन्छ, अनि हाम्रो पैसा पनि भारत जान्थ्यो,’ धनगढीका शिवराज अवस्थीले भन्नुभयो, ‘हाटबजारमा भारतबाट ल्याइएको तरकारी बिक्री गर्न रोक लगाउँदा हामी उपभोक्ता र किसान दुवैलाई फाइदा पुगेको छ ।’भारतबाट विषादी मिसाएको तरकारी बेच्ने बिचौलियाहरूका कारण स्थानीय किसान मर्कामा परेकाले धनगढी उपमहानगरपालिकाले भारतबाट ल्याइएको तरकारीलाई हाटबजारमा बिक्री गर्न रोक लगाएको कृषि शाखा प्रमुख उपाध्यायले बताउनुभएको छ । ‘भारतबाट ल्याइएको तरकारी बिचौलियाले हाटबजारमा बिक्री गर्दा एकातिर स्थानीय किसानले उब्जाएको तरकारी बेच्न नपाउने र अर्कोतिर नगरवासीले विषादी प्रयोग भएको तरकारी खानुपर्ने समस्या थियो’ उहाँले भन्नुभयो, ‘उपभोक्ता र किसान दुवैको हितका लागि यो निर्णय लागू गरिएको हो।’