सुदूरपश्चिम प्रदेश स्तरीय यु–१६ क्रिकेट छनौट स्थगित
2023/04/10, 1:52
 
ss

१६ वर्षमुनीको सुदूरपश्चिम  प्रदेशस्तरीय क्रिकेट छनौट प्रतियोगिता स्थगित भएको छ ।  मंगलबारदेखि अछाममा हुने तय भएको छनौट प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।

बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि पीडित पक्षले अछाममा सडक बन्द गरिएको छ । सडक बन्द गरिएपछि प्रतियोगिता पनि स्थगित गर्नुपरेको सचिव भट्टको भनाई छ ।  उनले भने,“ प्रतियोगिताको सबै तयारी पुरा भएको थियो, सडक बन्द भएपनि खेलाडी पुग्न समस्या हुने भएपनि हाललाई स्थगित गरेका हौं, सडक सञ्चालन भएपछि प्रतियोगिता सञ्चालनको लागि अर्को सूचना जारी गर्छौ । ”

प्रतियोगितामा प्रदेशका ८ जिल्लाका टोलीको सहभागिता रहनेछ । उक्त छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेश टोली घोषणा गरिने र उक्त टोलीले  राष्ट्रियस्तरीय छनौट प्रतियोगिता खेल्नेछ ।  नेपाल क्रिकेट संघले मलेशियामा हुने १६ वर्षमुनीको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला र प्रदेश छनौट गर्न निर्देशन दिएको हो  ।  

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेशियामा हुनेछ । सोहि प्रतियोगितामा नेपाल पनि सहभागि हुने नेपाल क्रिकेट संघले जनाएको छ ।