खेतभरि गहुँ पाकेर पहेलपुर छ । कतै गहुँ काटिएको छ । कतै थ्रेसिङ भइरहेको छ । कृषकलाई यतिबेला हिउँदे बाली गहुँ भित्र्याउने चटारो छ । चैत मध्यदेखि नै सुरु भएको गहुँ बाली भित्र्याउने क्रम अझै सकिएको छैन । फागुन अन्तिम साता र चैत पहिलो साता भएको वर्षाले यस पटक गहुँ भित्र्याउने समय केही ढिलो भएको हो ।
‘गर्मी बढ्दै गएको छ, गहुँ भित्र्याउन भ्याइनभ्याइ छ,’ भीमदत्त नगरपालिका–१२ का कृषक प्रकाश जोशीले भने, ‘यसपाला गहुँ ढिला पाक्यो, समयमै वर्षा नभएकाले विगतभन्दा केही ढिलो भएको हो ।’ उनको परिवार नयाँ वर्ष अगावै गहुँ भित्र्याउने हतारोमा छ । ‘गहुँ भित्र्याएर भण्डारण गरिरहेका छौं, भुसा पनि भित्र्याइरहेका छौं,’ भीमदत्त–१० तिलकेनीका कृषक जगन्नाथ पन्तले भने, ‘यसपालि गहुँ उत्पादन राम्रो भएको छ, गत वर्षभन्दा बढी उत्पादन भएको छ ।’ उनका अनुसार प्रतिकट्ठा एक क्विन्टलसम्म उत्पादन भएको छ । उनले दुई बिघामा गहुँ खेती गरेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पनि यतिबेला कृषकहरूलाई भ्याइनभ्याइ छ । कतिपय गहुँ भित्र्याउने र चैते धान लगाउने काम सँगसँगै गरिरहेका छन् । अन्य क्षेत्रको तुलनामा दक्षिणी क्षेत्र बेलौरी, पुनर्वास र लालझाडीमा गहुँको उत्पादन बढी हुन्छ । उक्त क्षेत्रमा मसुरो उत्पादन पनि राम्रो हुन्छ । कृषकहरू गहुँसँगै मसुरो भित्र्याउने चटारोमा छन् ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार हालसम्म ३५ देखि ४० प्रतिशतसम्म गहुँ भित्र्याइसकिएको छ । पूर्ण रूपमा गहुँ भित्र्याउन दुई हप्तासम्म अझै लाग्न सक्छ । ‘कृषकलाई गहुँ भित्र्याउने चटारो छ, कतै कटानी चलिरहेको छ, कतै चुटानी भइरहेको छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले भने, ‘यस वर्ष गहुँको उत्पादन बढ्ने अनुमान गरिएको छ ।’
जोशीका अनुसार यस वर्ष गहुँको उत्पादन ३ देखि साढे ३ मेट्रिक टन प्रतिहेक्टरसम्म हुने अनुमान गरिएको छ । समयमै सिँचाइ, मलखादको उपलब्धता र उन्नत जातको बिउको प्रयोग आदि कारणले उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए । ‘चुटानी भएको ठाउँमा पनि उत्पादन राम्रो भएको छ,’ उनले भने, ‘पाक्ने बेला लु ९तातो हावा० नचलेर पनि गहुँ पोसिलो हुन पायो, यसले पनि उत्पादन वृद्धि हुन्छ ।’
गत वर्ष जिल्लामा गहुँको उत्पादन ३ मेट्रिक टन प्रतिहेक्टर रहेको थियो । ज्ञान केन्द्रका अनुसार यस वर्ष ३१ हजार २ सय १० हेक्टरमा गहुँ खेती गरिएको छ । कृषकलाई गहुँ भित्र्याउने चटारो भए पनि थ्रेसिङमा भने ट्र्याक्टर व्यवसायीहरूको मनपरी रहेको छ । थ्रेसिङका लागि प्रतिघण्टा ३ हजारदेखि साढे ३ हजारसम्म लिइरहेको कृषकहरू बताउँछन् । गत वर्ष प्रतिघण्टा १८ सय रहेकोमा अहिले एक्कासि २ हजार हाराहारी वृद्धि भएको छ ।
‘गहुँको थ्रेसिङ निकै महँगो भयो, ट्र्याक्टर व्यवसायीको मनपरी नै चलिरहेको छ,’ कृषक पन्तले भने, ‘एकै व्यवसायीले कतै २८ सय लिइरहेको छ, कतै ३ हजार ३५ सय ।’ उनले डिजेलको मूल्य वृद्धि भएको बहानामा व्यवसायीहरूले थ्रेसिङ गरेको मूल्य मनपरी ढंगले निर्धारण गरेको बताए ।
केही स्थानीय तहले थ्रेसिङका लागि मूल्य निर्धारण गरे पनि अधिकांशले भने यसतर्फ चासो दिएका छैनन् । शुक्लाफाँटा र वेदकोट नगरपालिकाले थ्रेसिङका लागि प्रतिघण्टा २५ सय निर्धारण गरेको छ । अन्य पालिकाले भने यसतर्फ चासो दिएका छैनन् ।