मुख्यमन्त्री कप यू–१६ क्रिकेट : बैतडी र डडेल्धुरा विजयी
2023/04/17, 12:30
 
मुख्यमन्त्री कप यू–१६ क्रिकेट : बैतडी र डडेल्धुरा विजयी

बैतडी - प्रथम मुख्यमन्त्री कप यु–१६ सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा डडेल्धुरा र बैतडी विजयी भएका छन्। डडेल्धुराले कैलालीमाथि चार विकेटले हराउदा बैतडीले दार्चुलामथि १०९ रनको फारकिलो जित दर्ता गर्‍यो।

आइतबार रिडिकोट खेलमैदान, साँफेबगरमा कैलालीले दिएको १७१ रनको लक्ष्य डडेल्धुराले २३ दशमलब १ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जसमा राजेश ऐरले ६५ रनको योगदान गरे। उनी प्लेयर अफ द म्याच पनि चुनिए। कैलालीका डम्बर माझीले २ विकेट हात पारे।

त्यसअघि पहिला ब्याटिंग गरेको कैलालीले निर्धारित २५ ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनायो। उसका डबल ऐरले सर्वाधिक ३४ रन बनाए। डडेल्धुराका निरज ऐरले २ विकेट झारे।

अर्को खेलमा बैतडीले दिएको १९५ रनको लक्ष्य पन्छाएको दार्चुला ८५ रनमा अलआउट भयो। उसका हरिश विष्टले १५ रन बनाए। बैतडीका सचिन भट्ट र आयुश चन्दले तीन तीन विकेट हात पारे।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैतडीले निर्धारित २५ ओभरमा ९ विकेटको क्षतिमा १९४ रन बनायो, जसमा कप्तान नरेन भट्टले ६४ र सुदीप कार्कीले ५९ रनको पारी खेले। दार्चुलाका खगेन्द्र सिंह महरा र सुरज कडायतले तीन तीन विकेट लिए । बैतडीका नरेन भट्ट प्लेयर अफ द म्याच चुनिए।

वैशाख १ देखि शुरु भएको प्रतियोगितामा सहभागी प्रदेशका आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहबाट शीर्षमा पुग्ने टोलीबीच फाइनल हुनेछ। फाइनल खेल वैशाख ७ गते हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए। उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेश टोली घोषणा गरिने र उक्त टोलीले राष्ट्रिय स्तरीय छनोट प्रतियोगिता खेल्नेछ।

राष्ट्रिय स्तरीय छनोट प्रतियोगिता वैशाख १० गतेदेखि धनगढीमा सञ्चालन हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। नेपाल क्रिकेट संघले मलेशियामा हुने १६ वर्षमुनीको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला र प्रदेश छनोट गर्न निर्देशन दिएको हो।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार प्रतियोगिता मे १७ देखि २८ सम्म मलेसियामा हुनेछ। प्रतियोगितामा नेपाल पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ।