सुदूरपश्चिमका ५ सहित देशका ३१ जिल्लामा डढेलो
पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने
2023/04/18, 11:39
 
सुदूरपश्चिमका ५ सहित देशका ३१ जिल्लामा डढेलो

धनगढी - सुदुरपश्चिमका ५ जिल्लासहित देशका ३१ जिल्लामा डढेलो लागेको छ। वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार देशका ३१ जिल्लाका ६४ ठाउँमा अहिले पनि डढेलो लागिरहेको छ। सुदुरपश्चिम प्रदेशका डोटी र कैलालीमा दुई/दुई ठाउँमा डढेलो लागेको छ।

यस्तै कञ्चनपुर, डडेल्धुरा र अछामका एक/एक ठाएँमा आगलागी भएको वन तथा वातावरण मन्त्रालयका तथ्याङ्कले देखाएको छ। देशको सबैभन्दा धेरै चितवनका १२ ठाउँमा डढेलो लागेको छ। बर्दियाका ४, बाँके, दाङ र प्युठानका तीनरतीन ठाउँमा, धादिङ, काभ्रे, कपिलवस्तु, मकवानपुर, ओखलढुङ्गा, पाल्पा, पर्सा, रुपन्देही र सिन्धुलीका दुईरदुई ठाउँमा डढेलो लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

यस्तै, उदयपुर, सल्यान, रामेछाप, पर्वत, नुवाकोट, नवलपुर, महोत्तरी, लमजुङ, कास्की, गुल्मी, दैलेखका एक/एक ठाउँमा डढेलो लागेको छ । मध्य र पूर्वी नेपालमा केन्द्रित रहेको डढेलो पछिल्ला दिनमा पश्चिम नेपालसम्म फैलिएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तराईदेखि मध्य पहाडी वनजङ्गलसम्ममा डढेलो लागेको छ । प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माका अनुसार कतिपय जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्ने जोखिमसमेत बढेको छ ।नेपालमा यस वर्ष तुलनात्मक रूपमा डढेलोको जोखिम बढी रहेको पनि शर्माले बताए।

हिउँदमा पानी कम परेको र गएको वर्ष कम डढेलो लाग्दा जङ्गलमा इन्धन बढी भएकोले यो वर्ष जोखिम बढी भएको उनले बताए।यस्तै, डढेलोका प्रायः सबै घटना मानवीय कारणले हुने गरेका छन् । केही दुर्घटनावश भए पनि धेरैजसो घटना लापरबाहीका कारण हुने गरेका छन् । झन्डै ६५ प्रतिशत डढेलो त मानिसले जानीजानी लगाएको आगोबाट हुने भएकोले स्थानीयवासी सचेत हुनुपर्ने डढेलोविद् शर्माले बताए । डढेलोका कारण मुख्य सहरमा केही दिनदेखि प्रदूषण बढेको छ।

अझै तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने देखिएको छ । सुक्खापन बढ्दा र मानवीय लापरबाहीका कारण देशका धेरै वनजङ्गलमा डढेलो लागेको र यही कारण प्रदूषण बढेको विज्ञले बताएका छन् । धुवाँ फाल्ने पुराना गाडी र सडकका धुलो लगायतका कारण पनि प्रदूषण बढेको हो। प्रदूषणका कारण रुघाखोकी, दम र निमोनियाका बिरामी बढेका छन् । यस्तै, कतिपयलाई धुवाँधुलोका कारण घाँटीमा सङ्क्रमण भइरहेको छ भने कतिपयलाई एलर्जीको समस्या समेत देखिन थालेको छ।