भीमदत्त नगरपालिकाको स्थानीय पाठ्यपुस्तकमा समेटिए संस्कृति र पर्यटन
2023/04/22, 12:15
 
भीमदत्त नगरपालिकाको स्थानीय पाठ्यपुस्तकमा समेटिए संस्कृति र पर्यटन

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याएको छ ।नगरपालिकाले विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषयवस्तु समावेश गरेर १, २ र ६ कक्षाको पाठ्यपुस्तक प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको हो ।

संघीय सरकारबाट स्वीकृत पाठ्यक्रमअनुसार नगरपालिकाले पाठ्यक्रम बनाई यसै शैक्षिक सत्रदेखि १ देखि ८ कक्षासम्म पढाइ हुने गरी पाठ्यपुस्तक लागू गरेको भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले बताए ।‘यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक सम्पदा र यहाँको संस्कृति पर्वको बारेमा पुस्तकमा समेटिएको छ,’ उनले भने, ‘यसले यहाँको पर्यटन विकास र संस्कृति संरक्षणमा टेवा पुग्ने छ ।’

नगरपालिकाले यसै शैक्षिक सत्रदेखि सामुदायिक तथा संस्थागत विद्यालय पाठ्यपुस्तक लागू गर्न लागेको हो। नगरपालिकाले प्रकाशनमा ल्याएको १, २ र ६ कक्षाको पाठ्यपुस्तकमा यस क्षेत्रका पर्यटकीयस्थल, धार्मिक सम्पदा र परम्परागत पर्वको विषय समावेश गरिएको छ । पाठ्यपुस्तकमा यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधाराचाँदनी झोलुङ्गे पुल, विष्णुधाम लगायत यस क्षेत्रका ऐतिहासिक क्षेत्र समेटिएका छन् ।त्यसैगरी यहाँका मौलिक पर्वको बारेमा समेत विषयवस्तु राखिएको छ। नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ।

सोअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा आफैंले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मीतवनधुले स्थानीय सरकारले आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउनु प्रशंसनीय भएको बताए ।‘स्थानीय पाठ्यपुस्तकमा समेटिएका स्थानीयस्तरका भाषा, संस्कृति, कला र सम्पदाबारे विद्यार्थी परिचित हुन्छन्,’ उनले भने, ‘यसले विद्यार्थीमा आफ्नो समाजप्रति जिम्मेवारी बोध हुन्छ ।’

उनले यस्ता पाठ्यपुस्तकले विद्यार्थीमा अपनत्वको विकास हुने बताए। शिक्षक कविराज भट्टले स्थानीय पाठ्यक्रमले विद्यार्थीमा स्थानीय संस्कृतिको बारेमा ज्ञान हुने भएकाले संस्कृति पुस्तान्तरणमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । ‘विद्यार्थीले आफ्नो समाजमा भएका ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्पदाको बारेमा जानकारी पाउँछ,’ उनले भने, ‘यसले विद्यार्थीलाई आफ्नो समाजप्रति जिम्मेवार बनाउँछ ।’ भीमदत्त नगरपालिकामा सामुदायिक र संस्थागत गरी १२७ विद्यार्थी छन् । जसमध्ये १ देखि ८ कक्षासम्म अध्ययन गर्ने संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीको संख्या २५ हजार रहेको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।