कञ्चनपुरको ब्रह्मदेवदेखि कैलालीको गोदावरीसम्म दर्जन बढी ठाउँमा डढेलो
2023/04/22, 5:34
 
ss

कञ्चनपुरको ब्रह्मदेवदेखि कैलालीको गोदावरीसम्म एक दर्जन बढी ठाउँमा डढेलो लागेको छ। गर्मी बढेसँगै कञ्चनपुरको चुरेक्षेत्रमा डढेलोको प्रकोप बढेको छ।

डिभिजन वन कार्यालय कञ्चनपुरले कञ्चनपुरको भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्र, बेदकोट नगरपालिकाको बेदकोट ताल र चोरपानी क्षेत्र, शुक्लाफाँटा नगरपालिकाको वडा ५ र ८ को उत्तरी क्षेत्रमा डढेलो लागेको छ । चुरे संरक्षण सञ्जाल कञ्चनपुरका अध्यक्ष रवीन्द्र कुँवरले बेदकोट र भीमदत्तमा मात्रै आधा दर्जन बढी ठाउँमा डढेलो लागेको बताए।  सामुदायिक वनका उपभोक्ता र वनकर्मीहरू नियन्त्रणको प्रयास गरिरहेपनी ब्रह्मदेव र बेदकोटमा भिरालो ठाउँ भएकाले डढेलो नियन्त्रणमा आउन सकेको छैन्।

चुरेमा डडेलधुरा र कञ्चनपुर जोड्ने बाटोमा डढेलोको बढी प्रकोप रहेको अध्यक्ष कुँवरले बताए। उनले कञ्चनपुर र डडेलधुरा आउजाउ गर्ने वा चोरी तस्करी गर्नेले पनि डढेलो लगाएका हुन सक्ने बताए । नयाँ पलाएको पालुवा चर्न आएका चित्तल मार्न र सल्लाको लिसो र काठ तस्करी गर्नेहरूले मौका छोप्ने गरेका छन्। यसैगरी, लालझाडी मोहना संरक्षित क्षेत्रमा पनि डढेलो लागेको छ । पिपरिया र चुरे फेदीमा संरक्षित क्षेत्रमा पनि डढेलो लागेको छ ।

डिभिजन वन कार्यालयका अनुसार डढेलोका कारण हालसम्म ११० हेक्टर बढी वन क्षेत्र प्रभावित भएको छ । पिपरैयामा ७० हेक्टर र चुरे फेदीमा ५० हेक्टर हाराहारी वन क्षेत्र डढेलोले प्रभावित भएको छ । ब्रह्मदेव र बेदकोट क्षेत्रमा कति वन क्षेत्र प्रभावित भयो भन्ने यकिन हुन नसकेको डिभिजन वन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले डढेलो नियन्त्रणका लागि अग्निरेखा बनाउनेदेखि वन हेरालुलाई तालिम र औजार प्रदान गर्दै आएको छ । तर चुरे क्षेत्रमा भिरालोको कारण डढेलो नियन्त्रणमा समस्या हुने गरेको बताइएको छ।