कञ्चनपुरमा महिला मार्ने बाघलाई चिडियाखाना लगियो
2023/04/23, 2:11
 
ss

शनिबार कञ्चनपुरमा नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिएको बताए।

उक्त बाघलाई शनिबार बिहान डाट गरेर नियन्त्रणमा लिइएको थियो। बाघलाई पिजरामा राखेर गाडीमा चिडियाखाना पठाइएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसँगै भेटेरीनरी डाक्टरको टोलीले बाघलाई काठमाडौं पुर्‍याउने राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले बताए।

“हामीसँग यहाँ खोरमा राख्न पर्याप्त स्रोत साधन नभएको र बाघले भविष्यमा थप मानवीय क्षति गर्न सक्ने भएकाले चिडियाखाना लगिन लागेको हो,” उनले भने । बाघले शुक्रबार बेलौरी पचुइमा घाँस काटिरहेकी सोही ठाउँकी ४२ वर्षीया गङ्गा चन्दलाई आक्रमण गरी मारेको थियो ।

चन्दसँगै घाँस काट्न गएका अन्य चार–पाँच महिलाले भागेर ज्यान जोगाएका थिए । बाघलाई नियन्त्रणमा लिन बर्दियाबाट बाघविज्ञ डा दिनेश देवकोटा नेतृत्वको टोलीले शनिबार बिहान बाघ नियन्त्रणमा लिएको थियो । मृतक महिलाको परिवारलाई निर्देशिकाबमोजिम राहत उपलब्ध गराउने निकुञ्जले जनाएको छ ।