यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताः बागमती र कोसी उपाधिका लागि भिड्ने
2023/04/29, 6:24
 
ss

कैलालीको धनगढीमा जारी एनआईबीएम सुदुरपश्चिम मुख्यमन्त्री १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि बागमति र कोसी प्रदेश प्रतिस्पर्धा गर्ने भएका छन् । आज भएको सेमिफाईनलमा जित हात पार्दै दुबै टोली उपाधिका लागि भिड्ने भएका हुन् । बागमतिले लुम्बीनी प्रदेश र कोसीले मधेश प्रदेशलाई हराउँदै फाईनलको यात्रा तय गरेका हुन् । 

आज भएको पहिलो सेमिफाईनलमा कोसीले मधेश प्रदेशलाई ५८ रनले हरायो । कोसीले पहिले ब्याटिङ गर्दै निर्धारित ३० ओभरमा ८ विकेट क्षतिमा १५४ रन बनायो । कोसीका लागि भुपाल दंगालले ३६ रन, शिवांस बजगाईले ३४ रन, अलिस मण्डलले २९ रन र आशिक मगरले अविजित २४ रन बनाए । मधेशका लागि अभिषेक तिवारीले ३ विकेट लिए । चन्दन रामले २ विकेट र रोहन शाहले एक विकेट लिए । 

प्रतिउत्तरमा मधेश प्रदेशले २४ दशमलव ५ ओभरमा सबै विकेट क्षतिमा ९६ रन मात्रै बनाउन सक्यो । उसका लागि निरज यादवले २८ रन, चन्दन यादवले २३ रन, अलि अंसारीले २० रन बनाए । अन्य खेलाडीले दोहोरो रन अंक छुन नसकेको अवस्थामा ४ जना खेलाडी शुन्यमा आउट भए । कोसीका लागि कृतिक कामतले ५ विकेट लिए । आशिक मगरले २ विकेट लिदा सौजन घिमिरे र प्रतिक पौडेलले एक एक विकेट लिए । 

दोस्रो सेमिफाईनल खेलमा बागमतिले लुम्बीनी प्रदेशलाई ७० रनले हरायो । पहिले ब्याटिङ गरेको बागमतिले निर्धारित ३० ओभरमा ८ विकेट क्षतिमा १७५ रन बनायो । बागमतिका लागि रोशन विकले ४६ रन, निश्चल श्रेष्ठले २३ रन र अर्थव पौडेलले २० रन बनाए । लुम्बीनीका लागि कमरान अहमद र सन्तोष यादवले दुई दुई विकेट लिए । 

प्रतिउत्तरमा लुम्बनी प्रदेशले २८ दशमलव १ ओभरमा सबै विकेट क्षतिमा १०५ रन मात्रै बनाउन सक्यो । उसका लागि प्रतिक भट्टराईले ४७ रन र सुदीप यादवले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन् । बागमतिका लागि विशाल खत्रीले ३ विकेट र रोशन विकले २ विकेट लिए । 

प्रतियोगिताको फाईनल खेल भोली धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् । 

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।