वसन्त ऋतुको हरियालीसँगै तराईका वनहरूमा महुवा फुलेका छन् । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तर्गत पर्ने महुवाका बोटमा झुप्पा–झुप्पा रसिला फूल फुलेका छन् । यसैबीच महुवाको फूल सङ्कलनको कार्य पनि भइरहेको छ । स्थानीय आदिवासी जनजातिहरू महुवाका फूल सङ्कलन गरिरहेका छन् ।
महुवाको फूललाई प्रशोधन गरी रक्सी बनाउने प्रचलन रहिआएको छ । थारु समुदायका मानिसहरू यतिबेला फूल सङ्कलन गरिरहेका छन् । झरेको फूललाई सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई प्रशोधन गरी रक्सी बनाउने प्रचलन थारु समुदायमा रहिआएको छ ।महुवालाई शक्तिवर्धक जडीबुटीको रूपमा पनि लिइन्छ । डिभिजन वन कार्यालय कैलालीका पूर्व वन अधिकृत रामचन्द्र कँडेलका अनुसार महुवाको वैज्ञानिक नाम मधुका इन्दिका हो । जसको फूल र फलमा औषधीय गुण रहेको कँडेलको भनाइ छ । महुवाको औषधीय गुणकै कारण संरक्षण पनि हुँदै आएको छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले भने, ‘जनजाति समुदायमा महुवाको विशेष महत्त्व रहेको छ । जुन कारण वनमा भए पनि संरक्षण गरिनुका साथै आफ्नो खेतबारीमा पनि रोपेको पाइन्छ ।’
थारु समुदायमा महुवाको रक्सी अन्य रक्सीभन्दा शुद्ध, तेजिलो र तागतिलो हुने गरेको बताइन्छ । खास पाहुनालाई स्वागतका लागि र घरका देवतालाई चढाउनका लागि पनि पहुवाको रक्सी थारु गाउँमा अनिवार्य जस्तै हुन्छ ।
कैलालीको कैलारी गाउँपालिका ६ खरुवाखेराका स्थानीय सम्पत चौधरीले थारु समुदायमा महुवाको आफ्नै महत्त्व रहेको बताउँछन् । फूललाई प्रशोधन गरेर रक्सी बनाइने र कलौझी (फल)को तेल समेत निकाल्ने गरिएको सुनाउँछन् ।
घरायसी प्रयोजनको लागि सङ्कलन तथा प्रशोधन गरिने महुवा तथा महुवाको रक्सी पछिल्लो समय व्यावसायिक उद्देश्यले सङ्कलन तथा प्रवर्द्धन समेत हुन थालेको छ ।
महुवा प्रवर्द्धन सुरु
महुवा प्रशोधन गरी बनाइएको रक्सीको माग र मूल्य समेत उच्च रहेको छ । धनगढी उपमहानगरपालिका १६ स्थित थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले आफूहरुले सञ्चालन गरेको होमस्टेमा महुवाको रक्सीको माग उच्च रहेको जनाए । प्रति बोतल (२५० मिलिलिटर) ४ सय रुपैयाँमा बिक्रि हुँदैआएको अध्यक्ष चौधरीले बताए ।
यसैबीच स्थानीय पालिकाहरू महुवा प्रवर्द्धन कार्यक्रमसमेत गर्न थालेका छन् । धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक वन समन्वय समिति मसुरियाको प्राविधिक सहयोगमा महुवा वृक्षारोपण समेत गरिएको छ ।
अध्यक्ष चौधरीका अनुसार भादास्थित रामेश्वर धार्मिक वनको करिब ५ बिघा क्षेत्रफलमा २ हजार वटा महुवाको बिरुवा रोपिएको छ ।