रिलेमा सुदूरपश्चिमको कीर्तिमान
2023/04/30, 8:05
 
ss

सुदूरपश्चिम प्रदेशले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा आइतबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेलको सम्मिलित सुदूरपश्चिम टोलीले ३ मिनेट ३१.०० सेकेन्ड समयमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रच्यो । लुम्बिनी प्रदेशका सिमन पाण्डे, लेखनाथ महरा, बेद ओली र श्रवण केवतले २०७६ सालमा स्थापित गरेको ३ मिनेट ३२.३ सेकेन्डको कीर्तिमान सुदूरपश्चिमले भंग गरेको हो ।

प्रतियोगितामा योसहित जम्मा ३ जुनियर राष्ट्रिय कीर्तिमान बने । अघिल्लो दिन लुम्बिनीका सुदिप थारुले छात्र लङजम्प तथा सुदिप नै सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले ४ गुणा १ सय मिटर रिलेमा कीर्तिमान बनाएका थिए । छात्रा ४ गुणा ४ सय मिटर रिलेमा लुम्बिनीले स्वर्ण, सुदूरपश्चिमले रजत तथा कर्णालीले कांस्य पदक जिते । 

छात्र २ सय मिटर दौडमा लुम्बिनीका सुजल डाँगीले स्वर्ण जिते । उनले निर्धारित दूरी २३.० सेकेन्डमा पूरा  गरे । सुजलले योसहित प्रतियोगितामा १ कीर्तिमानीसहित ३ स्वर्ण हात पारे । उनले १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए । ३ हजार मिटर दौडमा सुदूरपश्चिमका अमित आउजी पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ९ मिनेट २८.१ सेकेन्ड समय खर्चे । ट्रिपलजम्पमा कोशीका राजीव ढुंगाना (१३.५० मिटर) तथा सटपुटमा कर्णालीका धीरेन्द्र विक (१२.०९ मिटर) ले शीर्ष स्थान हात पारे ।

छात्रा २ सय मिटर दौडमा लुम्बिनीकी रेसु चौधरी २८.० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहिन् । रेसुले ट्रिपलजम्पमा पनि (१०.१४ मिटर) स्वर्ण जितिन् । रेसुले प्रतियोगितामा ३ व्यक्तिगतसहित ४ स्वर्ण चुमिन् । रेसुले १ सय मिटर दौड र ४ गुणा १ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन् । ३ हजार मिटर दौडमा लुम्बिनीकी मोतीकला डाँगीले दूरी ११ मिनेट २४.५ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । सटपुटमा बागमतीकी अप्सरा श्रेष्ठ (८.६२ मिटर) ले स्वर्ण हात पारिन् ।

एथलेटिक्समा लुम्बिनीको वर्चस्व रह्यो । जम्मा २६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा लुम्बिनीले १६ स्वर्ण कब्जा ग¥यो । कर्णालीले ३, बागमती, सुदूरपश्चिम र गण्डकीले समान २–२ तथा कोशीले १ स्वर्ण जिते ।