सुदूरपश्चिममा रेबिज रोगको प्रकोप बढ्दो
2023/05/19, 7:25
 
ss

सुदूरपश्चिममा रेबिज रोगको प्रकोप बढ्दै गएको छ। विगतमा हरेक वर्ष बढीमा ५र७ केस आउने गरेकोमा यो वर्ष बैशाखसम्म २७ वटा रेबिजका केस पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आएका छन्। विगतका वर्षभन्दा यो वर्ष रेबिज संक्रमण निकै बढेको पशुपन्छी अन्वेषण प्रयोगशालाका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए।

रेबिज संक्रमण भए शतप्रतिशत मृत्यु हुने भएकाले संक्रमण हुन नदिन कुकुर, बिराला र जङ्गली जनावरले टोकेमा अनिवार्य खोप लगाउनुपर्ने उनले बताए। पशुबाट मानिसमा सर्ने रोग देशका अन्य भागको तुलनामा सुदूरपश्चिममा आधा रोग देखा पर्ने गरेको उनको दाबी छ। सुदूरपश्चिममा जुनोटिक रोगको प्रकोप बिकराल रहेको बताउँदै  जोशीले दुग्धजन्य र मासुजन्य पदार्थको उपभोग गर्दा सचेत हुनुपर्ने बताए।

भारतमा उत्पादन भएका कुखुरा र अन्य मासुजन्य पदार्थ उपभोग गर्न नहुने उनको सुझाव छ। कुकुर बिराला र जङ्गली जनावरले टोकेको अवस्थामा अनिवार्य खोप लगाउने र मासुजन्य पदार्थ उपभोगमा सचेत हुनुपर्ने बताइएको छ। रेबिज रोग नियन्त्रणका लागि  स्थानीय तहका प्रमुख र सरोकारवालासँग शुक्रवार समन्वय बैठक गरिएको छ।

समन्वय बैठकमा कैलालीका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। जिल्लाभित्र रेबिजको प्रकोप बढेकाले स्थानीय तहका प्रमुख र सरोकारवालासँग समन्वय बैठक गरिएको भेटेरिनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए।

रेबिज नियन्त्रण गर्न घरपालुवा कुकुर बिरालोलाई अनिवार्य रेबिज विरुद्धको खोप लगाउनुपर्छ भने विद्यालयमा रेबिज विरुद्ध  शिक्षा दिनुपर्ने जोशीले बताए। रेबिज जुनसुकै ठाउँमा देखिए पनि पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा निःशुल्क परीक्षण हुने व्यवस्था छ। सरकारले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट सर्ने रेबिजबाट हुने मानिसको मृत्यु शून्यमा झर्ने लक्ष्य राखेको छ। सरकारले लिएको लक्ष्य पूरा गर्न स्थानीय तह र सरोकारवालाको सहयोग र सहकार्य अपरिहार्य रहेको बताइएको छ।