डा.गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर, सरकारी पक्षले भोलि वार्ता गर्ने
केसीको जीवन रक्षाको माग राख्दै धनगढीमा प्रर्दशन
2022/09/18, 1:49
 
डा.गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर, सरकारी पक्षले भोलि वार्ता गर्ने

धनगढी - अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीको श्रीकृष्ण मन्दिरको धर्मशालाबाट उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका केसीको अवस्था स्थिर रहेको उनका सहयोगी डा.अमृत जैसीले जानकारी दिए । जैसीकाअनुसार स्वास्थ्यमा थप समस्या हुने देखिएपछि चिकित्सकले औषधी प्रयोग गर्न सुझाव दिएपनि केसीले मानेका छैनन् । उनले आफूले उठाएका माग सम्बोधन गर्न सरकार तयार नभएसम्म ज्यानमा तलमाथि भएपनि कुनै औषधी प्रयोग नगर्ने अडान लिएका छन् ।

केसीको ब्लड प्रेसर घटेको छ भने मुटुको चालमा गडबढ भएको छ । केसीले उठाएका मागबारे वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेपनि अहिलेसम्म वार्ता हुन सकेको छैन ।

उनका सहयोग डाक्टर जैसीकाअनुसार सरकारले शनिबार वार्ता गर्ने भनेपनि सरकारी वार्ता टोलीमा सदस्य रहेका शिक्षा सचिव उपत्यका बाहिर गएकाले नभएको हो । सरकार पक्षले भोलि बिहान १० बजे वार्ताका लागि बोलाएको छ ।

यसैबीच अनसनरत डाक्टर केसीको जीवन रक्षाको माग राख्दै धनगढीमा प्रर्दशन गरिएको छ । शनिबार दिउँसो धनगढीको पार्क मोडमा केसीसँग गरिएका सम्झौता कार्यान्वयन गर्दै उनको जीवन रक्षा गर्न माग गर्दै युवाहरुले प्रर्दशन गरेका हुन् ।