कैलालीका केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप, कक्षा कोठाको अभाव
2023/05/20, 2:35
 
ss

सामुदायिक विद्यालयमा भर्ना कार्यक्रम अन्तिममा पुगेको छ। कैलालीमा केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गइरहेको अवस्थामा केही विद्यालयमा भने विद्यार्थीको चाप बढ्दै जानुलाई शैक्षिक गुणस्तर राम्रो भएको अभिभावकहरु बताउँछन् ।

कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा रहेको कान्तिराज्य माध्यामिक विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ । त्यहा अहिले करिब १७ सय विद्यार्थी भर्ना भएका छन् । वि।सं। २०७८ मा प्रदेश सरकारको सिफारिसमा ठूला विद्यालय पूर्वाधार विकास कार्यक्रममा छनोट भएको कान्ति माविमा विद्यार्थीको चापसँगै भौतिक पूर्वाधारको अभाव छ । विद्यालयका प्रधानाध्यापक उमाकान्त मिश्रले दुई समयमा कक्षा सञ्चालन गर्ने गरेको बताए।

उनले विद्यालयमा १८ वटामात्र कक्षा कोठा रहेकाले कक्षा १ देखि १० सम्मको दिउँसो, कक्षा ११ र १२ को बिहान सञ्चालन गरिँदै आएको जानकारी दिए । कक्षा नौमा तीनवटा समूह रहेको जानकारी दिदै उनले एउटा कक्षामा ९० जनाभन्दा बढी विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको बताए । नगरपालिकामा नतिजादेखि अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यालयको रुपमा रहेको कान्ति माध्यामिक विद्यालय विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ । ठूला विद्यालय कार्यक्रमको मान्यता अनुसार दुई हजार बढी विद्यार्थी हुनुपर्ने बाध्यता कान्ति माविलाई छ ।

त्यसैले आएकालाई फर्काउन पनि नसकिने, सिमित स्रोत साधनका बीच अध्ययापन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक मिश्रको भनाइ छ ।कैलालीको पूर्वीक्षेत्रका स्थानीयतहमा रहेका सरकारी विद्यालयमध्ये गौरीगङ्गा–४ मा रहेको कालिका माध्यामिक विद्यालय पनि शैक्षिक गुणस्तरमा नाम चलेको विद्यालयको रुपमा चिनिन्छ । हाल कक्षा १२ सम्म १३ सय विद्यार्थी भर्ना भएको यस विद्यालयमा माथिल्लो कक्षामा आवेदन फारममार्फत छनोट गरिन्छ ।कक्षा आठदेखि अंग्रेजी र नेपाली माध्यममा पढाइ हुने जानकारी दिनुहुँदै विद्यालयका प्रधानाध्यापक युवराज कँडेलले कक्षा नौ र १० मा विद्यार्थीको चाप अत्यधिक बढेकोे बताए।

पालिकामै उत्कृष्ट विद्यालयको रुपमा रहेको कालिका माविले केही वर्ष यता कक्षा आठ, १० र १२ मा टप गर्दै आएको प्रधानाध्यापक कँडेलको भनाइ छ ।उनले कक्षा नौमा पाँच सेक्सन रहेको बताए । उनले एक सेक्सनमा ५५ देखि ६० जना विद्यार्थी रहेको जानकारी दिए । विद्यालयले बस सुविधा दिएपछि विद्यार्थीको चाप झनै बढेको उनको भनाइ छ । भौतिक पूर्वाधारको र जनशक्तिको क्षमताका आधारमा भर्ना लिने गरेको प्रधानाध्यापक कंडेलले जनाए । नगरपालिकाले नमुना विद्यालयको रुपमा विद्यालयलाई बस लगायत अन्य भौतिक पूर्वाधारमा सहयोग गर्ने गरेको नगरपालिकाले जनाएको छ। घोडाघोडी नगरपालिका शिक्षा शाखाका अधिकृत उमेश रेग्मीले घोडाघोडीमा नतिजा राम्रो दिने विद्यालयमा विद्यार्थीको चाप बढेको उल्लेख गरे । उनले नगरपालिका भरि ५१ वटा सामुदायिक विद्यालय रहेको जानकारी दिदै पाँच वटा विद्यालयमा विद्यार्थी भर्नाको चाप बढी रहेको उल्लेख गरे ।