सीतारामका नामले जेल बसेका सन्तकुमार ७ वर्षपछि निर्दोष सावित भएपछि.........
2023/05/20, 2:38
 
ss

कैलालीको भजनी नगरपालिका(६ को नवलपुरका सन्तकुुमार चौधरी ७ वर्षको काराबासपछि पुरानै पेसा, व्यवसायमा फर्किएका छन् । गाउँघरमा सीतारामको नामले परिचित सन्तकुमारलाई २०७२ सालमा भएको टीकापुर घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

वास्तविक नाम सन्तकुमार भए पनि प्रहरीले उनलाई बिद्रोह भनिने सीताराम चौधरीको नामबाट पक्राउ गरेर मुद्दा चलाएको थियो । हुुनत सन्तकुमार चौधरीको नाममा पनि मुद्दा चलाइएको थियो तर सन्तकुमारलाई फरारको सूचीमा राखिएको थियो । जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते टीकापुर घटनासम्बन्धी मुद्दामा फैसला गर्दै सन्तकुमारलाई जन्मकैदको फैसला सुनायो । उनी जिल्लाको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपायल पुगे तर उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरिदिएपछि कारागार बस्नुपर्ने बाहेक विकल्प उनीसँग रहेन ।

‘म पहिलेदेखि गाउँमा होटल र मासु पसल चलाउदथें। घटना भएको दिन बंगुर काटेर मासु बिक्रिगर्न टीकापुर गएको थिए,’ चौधरीले अनलाइनखबरसँग भने, ‘तर आफ्नो कामले टीकापुर गएको मलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायो । अनाहकमा ७ वर्ष जेल बस्नु¥यो। ढिलै भए पनि सर्वोच्चबाट न्याय पाएँ । खुसी छु ।’ चौधरीले न्यायिक निरुपणका क्रममा आफू बिद्रोह भनिने सीताराम नभएर सन्तकुमार भएको बारम्बार प्रहरी, सरकारी वकिल र न्यायाधीशलाई भनिरहे तर उनको कुरा कसैले सुनेनन्।२०७३ वैशाख २७ गते पक्राउ पर्दा समेत चौधरीलाई प्रहरीले अभियोग बताएको थिएन ।


त्यो कुरा कारागार पुगेपछि मात्र उनले थाहा पाए। उनी पक्राउ परेपछि पनि प्रहरीले सन्तकुमार खै भन्दै पटक–पटक उनको घरमा गएर दुःख दिइरह्यो । सीताराम नै सन्तकुमार हुन भन्दा प्रहरीले विश्वास नै गरेन ।यो बीचमा सीताराम र सन्तकुमार दुवै एउटै व्यक्ति हो भनेर प्रमाणित गराउन उनको परिवारले निकै दौडधुप र सकस भोग्नुप¥यो । उनकी पत्नी यमुनाले श्रीमानको न्यायका लागि कुनै कसर बाँकी राखिनन् ।जिल्ला अदालतको फैसलाविरुद्ध २ पुस २०७७ मा उनले उच्च अदालत दिपायलमा पुनरावेदन गरिन् तर उच्चले जिल्लाकै फैसला सदर गरिदियो ।

सर्वोच्च अदालतले २ जेठमा गरेको फैसलाले भने चौधरीलाई सफाइ दिएपछि दिन त फेरिएका छन् तर विनाकसुर ७ वर्षसम्म जेल सजाय भोग्नुपरेको पीडाको लेखाजोखा गरिसाध्य छैन ।‘सर्वोच्च अदालतले न्याय दिएपछि म पुरानै पेसा व्यवसायमा फर्किएको छु तर विनाकारण राज्यले ७ वर्षसम्म जेलमा हाल्दा मैले र मेरो परिवारले भोग्नुपरेको पीडा, दुःखको अनुभूति हामीलाई भन्दा कसलाई पो हुन्छ र,’ चौधरीले भने, ‘यो घटनामा म जस्तै धेरै निर्दोष फसाइएकाले राम्रोसँग छानबिन गरेर सबैलाई न्याय दिनुपर्छ ।’

योभन्दा अघि चौधरी कहिल्यै पनि प्रहरी हिरासत वा कारागार बसेका थिएनन्। जेठ २ गते जेलमुक्त भएका चौधरी उनको अनुपस्थितिमा श्रीमती यमुना र छोरीहरुले सम्हालेको होटल तथा मासु व्यवसायमा फर्किएर पुराना पीडा भुलाउन थालेका छन् । तर ७ भदौ २०७२ मा मारिएका नाबालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जानेगरी भएको टीकापुर घटनाको निष्पक्ष छानबिन नभएको अनुभव उनी गर्छन् । यो घटनामा दोषीलाई कारबाही र निर्दोषलाई सफाइ दिन राज्य तयार हुनुपर्ने भनाइ उनको छ । चौधरीसँगै यो मुद्दामा ७ वर्ष कैद सजाय भोगेर सर्वोच्च अदालतबाट सफाइ पाएका गंगाराम चौधरी भने अर्को मुद्दाका कारण रिहा हुन सकेका छैनन् ।