राजा महेन्द्रले विसं। २०२१ मा भूमिसुधार लागू गरेपछि जसरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराईका जंगलहरू विस्तारै विस्तारै बस्तीका रुपमा बद्लिन थाले त्यही क्रममा सुदूरपश्चिम प्रदेशको धनगढीले पनि नयाँ स्वरूप पाउन थाल्यो ।
भूमिसुधार लागू हुनुभन्दा पहिले यहाँको जमिन जमिनदारको कब्जामा थियो । ०२१ सालभन्दा अगाडि धनगढीमा हालको जिल्ला प्रशासन कार्यालयको भवन, मालपोत, अस्पताल मात्र पक्की भवन थिए । केहि कच्ची घरहरुमा रैथाने समुदायको बसोबास थियो । मलेरियाका कारण पहाडबाट यहाँ आएर कोही पनि बस्न मान्दैन थिए । ०२२ सालमा मलेरिया उन्मुलन भयो,२०२९ मा धनगढी–डडेल्धुरा राजमार्ग निर्माण भयो । त्यसपछि मात्र धनगढीमा मानवको चहलपहल बढ्न सुरु भएको हो । राजमार्ग निर्माण भएपछि सुदूरपश्चिमको पहाडबाट तराई झर्नेहरुको संख्या बढ्यो ।
पुरानो धनगढी गाउँको नामबाटै अहिलेको धनगढी उपमहानगर स्थापित भएको हो । ‘मलेरिया उन्मुलन भएपछि यहाँको बस्ती विकास भएको हो’, धनगढीका पूर्व मेयर समेत रहेका खेमराज पाण्डेले सुनाए,‘२०२५ सालपछि मात्र धनगढीमा पहाडबाट झरेका मानिसको चहलपहल बढेको हो ।’ पंचायतकालका तीनवटा गाउँ मिलेर धनगढी नगरपालिका बनेको उनको भनाई रहेको छ । ‘तारानगर,त्रि–नगर र देवरिया गाउँ मिलाएर २०३३ मा धनगढी नगर पंचायत भएको हो,’ ७७ बर्षीय पाण्डेले सम्झिए,‘धनगढी नगर पंचायतका पहिलो प्रधानपंच यज्ञराज पन्त थिए,उनी लगातार दुई पटक प्रधानपंच भए ।’
‘०२१ सालको भूमिसुधार लागू, ०२९ सालमा नयाँ शिक्षा लागू हुनु र धनगढी डडेल्धुरा राजमार्ग निर्माण भएपछि मानव बस्ती बढेको पाईन्छ’, पूर्व मेयर खेम वमले भने ‘२०३७ सालमा कैलाली बहुमुखी क्याम्पस निर्माण भएपछि धनगढीमा बसोबास गर्नेहरुको संख्या अझै बढ्न थाल्यो ।’
सुदूरपश्चिममा पंचायतककालमै महेन्द्रनगर र टीकापुर जस्ता योजनाबद्ध रुपमा बसेका सहर हुँदाहुँदै पनि धनगढी ओझेलमै थियो । २०३७ सालसम्म पनि धनगढीमा बजार नाममात्रको रहेका स्थानीय ६८ बर्षिय कुलबहादुर हमालले सम्झिए । २०५२ सालमा तत्कालिन माओवादीले शशस्त्र द्वन्द्व सुरु गरेपछिमात्र बस्ती बढेको हमालको भनाई छ । ‘पहाडतिर बस्न मान्छेहरु डराउन थाले,सुरक्षित स्थान खोज्दै धनगढी आए’, उनले भने,‘त्यतिवेला धनगढी सबैभन्दा सुरक्षित मानिन्थ्यो ।’ ०६२÷६३ को जनआन्दोलनपछि धनगढीले शहरकै रुप लिनथाल्यो । २०७८ को जनगणना अनुसार धनगढीको जनसंख्या दुई लाख भन्दा बढी छ ।
२०७४ मा साविकको अत्तरिया नगरपालिका केहि वडा, फूलबारी र उर्मा गाविस मिलाएर उपमहानगरपलिका घोषणा भयो । उपमहानगरपालिका घोषणा भएपछि धनगढीमा जनघनत्व बढ्दै गयो । २०३७ सालमा अछामबाट तराई आउँदै गर्दा फाटफुट मात्रामा धनगढीमा घर भएको स्थानीय समेत रहेका अर्का पूर्वमेयर नृपबहादुर वडले स्मरण गरे ।
‘पर्याप्त पूर्वाधार विना नै तत्कालिन अवस्थामा नगरपालिका भएको धनगढी त्यसमा उपमहानगरभएपछि निकै सकसपूर्ण अवस्थामा रहेको थियो’,उनले भने,‘२०७४ पछि पूर्वाधारले पनि गति लिएको छ । बस्तीहरु पनि बाक्लो हुँदै गएको छ ।’ प्रदेशको अस्थायी मुकाम पनि धनगढी भएको हुँदा सुदूरपश्चिमको प्रमुख सहरका रुपमा परिचित भएको छ ।