बाजुरामा असिनापानीले अन्नबालीमा क्षति, किसानलाई भोकै परिने चिन्ता
2023/05/21, 1:08
 
बाजुरामा असिनापानीले अन्नबालीमा क्षति, किसानलाई भोकै परिने चिन्ता

बाजुरा - जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा गत बुधबार दिउँसो आएको असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पु¥याएको छ ।

हिउँदे बाली भित्र्याउन नपाउदै आएको असिनापानीले खेतबारीमै गहुँ, जौँ सखाप पारेपछि किसानहरू चिन्तित बनेका छन् । अहिले उनीहरु भोकै परिने हो कि भन्ने चिन्तामा छन् ।

कम उत्पादन हुने र हिउँदभरि दुःख गरेर लगाएको खेती असिनापानीले सखाप पारेपछि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता बढेको खप्तड छेडेदह गाउँपालिका–७ बुढाबाडाकी भीम्ला बुढाले दुःखेसो पोखिन । उनले भनिन्, ‘असिनापानीले गहुँ, जौँ, तरकारीमा आलु प्याज, लसुन, फलेको फलफूलमा क्षति पुग्यो ।’

खप्तड छेडेदह –६ र ७ वडाका करिब सात हजार रोपनी जग्गाको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुगेको असिनापीडित किसानले जनाएका छन् । असिनाबाट पीडित बनेका किसानले बिहान खेतबारी गएर टुलुटुलु पाकेको गहुँ र जौँ हेर्नुबाहेकको विकल्प नरहेको ओलीका कृषक बिर्ख ओलीले बताए । उनले असिनाबाट पीडित किसानलाई राहतभन्दा पनि क्षतिपूर्ति दिनुपर्ने माग गरे ।

खप्तड छेडेदह –६ र ७ वडाका नौ सय पाँच परिवारले लगाएको अन्नबाली, तरकारी र फलफूल खेतीमा करिब दुई करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । गाउँपालिका–७ का वडाध्यक्ष रावतका अनुसार वडा ६ र ७ का उक्त परिवारले करिब सात हजार पाँच रोपनीमा लगाएको अन्न, तरकारी र फलफूल खेती नोक्सानी पु¥याएकाले वडा कार्यालयले प्रारम्भिक अनुमान गरेको बताए ।

वडा कार्यालयको अनुगमन गर्दा प्रारम्भिक रूपमा दुई करोड बढीको क्षति भएको अनुमान गरिएको उनले बताए ।