बाजुरामा नियमित उडान नहुँदा विरामी समस्यामा, ३ दिनमा दुई जनाको मृत्यु
2023/05/22, 9:27
 
ss

बाजुरामा हवाई सेवा नियमित उडान नहुँदा तीन दिनमा दुई जना बिरामीको मृत्यु भएको छ भने केही बिरामी अलपत्र परेका छन्। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले ३ दिनको अबधिमा रिफर गरेका २ जना बिरामीको ज्यान गएको छ।

थप उपचारका लागि रिफर गरिएका चार जना मध्ये २ जनाको बीच बाटोमै मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी बाजुराले जानकारी दिएको छ। मृत्यु हुँनेमा जिल्लाको बुढीनन्दा नगरपालिका–३ का अग्नी बोहरा र जगन्नाथ गाउँपालिका(१ की ऐना गिरी रहेका छन्। स्वास्थ्य केन्द्रले रिफर गरेको थियो, कोल्टीमा जहाज नआउँने भएपछि गाडिबाट सुबिधा सम्पन्न ठाउँमा लिन खोज्दा बिरामीको मृत्यु भएको हो । कोल्टी विमानस्थलमा पाँच दिन देखि हवाई उडान नै भएको छैन्।

बिरामीले जहाज पर्खी बसेपनि उनीहरुका लागि काल पहिले र विमान पछि आउँने अवस्थाको सिर्जना भएको स्थानीय जनक कुमार बिष्टले बताए । हप्ता दिनदेखि हिमाली गाउँपालिका–७ का देवीदत्त जोशी र जगन्नाथ गाउँपालिका–१ का लालबहादुर रोकाया जहाजको पखाईमा हुँनुहुन्छ। मृत्यु भएका २६ वर्षीय बोहरा विद्युत्को तारलाई विस्तार गर्ने क्रममा पोल ढलेपछि घाइते भएका थिए । घाइते बोहोरा लाई थप उपचारका लागि तत्काल धनगढी रिफर गरिएको थियो। रिफर गरिएको ६ घण्टा नवित्दै उनको डोटीको चौखुट्टेमा मृत्यु भएको आफन्तले बताएका छन्।

कोल्टीबाट धनगढीको पैदल यात्रा करीब १६ घण्टा बढी लाग्ने गरेको छ। हवाई सेवाको बिकल्प नभएपनि बोहरालाई आफन्तले पैदल यात्राबाट उपचारका लागि लिएका थिए। त्यसैको ठिक एक दिन पछि रिफर गरिएकी बिरामी ऐना गिरीको पनि बीच बाटोमै ज्यान गएको छ। मस्तिष्क घातको समस्या देखिएपछि रिफर गरिएको थियो। उपचार सम्भव नहुने देखेर रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले बताएको छ। ५५ वर्षीया गिरीको पनि डोटीकै साजघाटमा मृत्यु भएको आफन्तले बताएका छन्। रिफर गरिएका ४ जना मध्ये पैदल मार्गबाट गएका दुबै जनाको मृत्यु भइसकेको छ। बाँकी २ अझैपनि जहाजको पर्खाइमा बसिरहेका छन्। तर कोल्टी विमानस्थलमा पाँच दिनदेखि हवाई उडान नै भएको छैन।

सिजनमा हवाई कम्पनीले बाजुराको कोल्टी उडान प्रभावित गर्ने गरेका छन्। पूर्वमा राम्रो आम्दानी हुने भएपछि यताको उडान तालिका नै रद्द गरेर अन्यन्त्र जाँदा यहाँका विरामीले अकालमै ज्यान गुमाउनु परेको स्थानीयको भनाई छ। कोल्टीमा सातै दिनको उढान तालिका रहेको छ। सिता एयर बिहीबार, तारा सोमबार, नेपाल एयर मंगलबार र बाँकी दिन समिट एयरले उडान भर्ने तालिका छ। बुधबार यता कुनै कम्पनीले पनि उडान नभरेको विमानस्थल प्रमुख श्रीकृष्ण रिजालले बताए। बाजुरादेखि नेपालगञ्जसम्मको हवाई उडान समय ३० देखि ३५ मिनेटको हुँने गरेको छ। नियमित उडान नभरेपनि आकस्मीक अवतरण गर्न अनुरोध गर्दा पनि नमानेको मृतकका आफन्तको आक्रोश छ ।प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बाजुराका चार पालिका र छिमेकी हुम्ला, मुगु र कालीकोट जिल्लाका विरामी उपचारका लागि आउने गरेका छन्। कर्णाली करिडोर पनि भरपर्दो नभएको र मार्तडी कोल्टी, मार्तडी धनगढी सडकको दुरी निकै लामो हुने हुँदा विरामीका लागी ठुलै सास्ती हुँदै आएको छ।