बाजुराको कोल्टी विमानस्थल मर्मत कार्य सुरु
2023/05/25, 1:41
 
बाजुराको कोल्टी विमानस्थल मर्मत कार्य सुरु

बाजुरा - बाजुराको पुर्वी उत्तरी भेगमा रहेको कोल्टी विमानस्थलको धावनमार्ग मर्मतको काम भईरहेको छ। ६ वर्ष अगाडी कालोपत्रे गरिएको धावनमार्गमा गिट्टीहरु उप्किन थालेपछि मनकामना निर्माण सेवा काठमाण्डौले अहिले धावनमार्ग कालोपत्रे, फेन्जिङ मर्मत, कलरिङको काम गरिरहेको छ।

कोल्टी विमानस्थलको धावनमार्गमा भ्वाङ्ग परेका र गिट्टीहरु उप्केकाले टाल्ने काम भइरहेको विमानस्थलले जनाएको छ। विमानस्थलमा जहाजहरुलाई अवतरण गर्दा सहज होस भन्ने उद्देश्यले धावनमार्गको कालोपत्रे संगै पार्किङको काम भईरहेको रहेको विमानस्थल प्रमुख श्रीकृष्ण रिजालले बताएका छन् । विमानस्थलको धावनमार्गको मर्मत सकिए लगत्तै हवाई सेवा नियमित संचालनमा आउने उनले जानकारी दिएका छन्। पाँच सय ४० मिटर लम्वाई र २० मिटर चौडाई रहेको कोल्टी विमानस्थलमा १८ देखि २२ जनाको सिट क्षमता रहेका जहाजहरुले उडान भर्ने गरेका छन्।

विमानस्थलको धावनमार्गमा जहाज अवतरण गर्दा निरन्तर समस्या दिँदै आएका खाल्डाहरु पुर्ने र धावनमार्गको कालोपत्रे संगै कलरिङ गरेर मर्मत भईरहेको निर्माण कम्पनीले जनाएको छ। सुदूर तथा कर्णाली प्रदेशको एकमात्रै जहाज अवतरणका लागि सुरक्षित स्थानका रुपमा कोल्टी विमानस्थल रहेको छ। यही बाटो हुँदै रारा, बुढीनन्दा, बडीमालिका र खप्तड जस्ता पर्यटकीय क्षेत्रमा जानका लागि यो विमानस्थल मुख्य मार्ग भएकोले यस विमान स्थलमा राज्यले आवश्यक लगानी गर्न जरुरी रहेको नागरिक समाजका अगुना जनेश भण्डारीले बताएका छन्। कोल्टी विमानस्थलमा नेपालगञ्ज र धनगढीबाट बाजुरा, हुम्ला, मुगु र कालीकोटका स्थानीयले सुरक्षित र सहज यात्रा गर्ने गरेका छन् । कोल्टी विमानस्थलमा हाल नेपाल वायु सेवा निगम,तारा, मकालु, र सिता, र गोमाका ट्वीनेटर जहाजले उडान भर्ने गरेको नागरिक उड्ययन कार्यालय कोल्टीले जनाएको छ।