गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने निर्णयको विरोध, आन्दोलनको तयारी
संघर्ष समितिले अत्तरियामा चक्काजाम गर्ने
2023/05/31, 2:26
 
गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने निर्णयको विरोध, आन्दोलनको तयारी

धनगढी - सरकारले यसअघि गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुप सञ्चालन गर्ने निर्णय गरेकोमा आगामी बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने बताएको छ।

सोमबार संघिय संसदमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१  को बजेट सार्वजनिक गर्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने बताएका हुन्। सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज निर्माण स्थापना गर्न घोषणा गरेको थियो। तर प्रारुपबारे २०६५ देखि नै अन्योलता देखिएको थियो ।त्यसपछि वर्तमान सरकारले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय चलाउने निर्णय गरेको थियो। गत माघ २९ गते सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेर हाल आएर बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने निर्णयको बिरोध र आलोचना हुन थालेको छ।

सरकारले गेटा मेडिकल कलेज सञ्चालनको प्रारुप टुंग्याएपनि स्थानियहरुले भने उक्त निर्णयको विरोध भैरहेको हो । मेडिकल कलेज सञ्चालनको लागि थालिएको अभियानका उपसंयोजक आनन्द भट्टले सरकारले मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर आफुहरुलाई पटक पटक आश्वासन र धोका दिएको बताए। विश्वविद्यालय बनाउने आश्वासन दिएर अन्तमा प्रतिष्ठान बनाउने विषय स्विकार्य नहुने उनको भनाई छ । भट्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘गेटा मेडिकल बिश्व बिद्यालयका सन्दर्भमा नेपाल सरकारबाट भएको निर्णय खेद जनक छ’ ‘मन्त्री परिषदको बैठकबाट बिश्व बिद्यालयका रुपमा संचालनमा ल्याइने भनेर गरेको निर्णय लत्याएर जसरी बजेटमा प्रतिष्ठान भनेर झुक्याइयो, यो सुदुरपश्चिमका जनता माथिको धोका हो ।’

उनले संघर्ष समितिले तत्कालै छलफल गरेर मेडिकल कलेजमाथी सरकारको निर्णयका बारेमा छलफल गर्ने बताए । उनले मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडी बढाउने निर्णय गरेपनि सरकारले यसका लागि बजेट र सञ्चालनको मोडालिटि क्लियर नगरेको बताए । सोही कारण पनि मेडिकल कलेजको सञ्चालनका विषयमा सरकारले सुदूरपश्चिमेलीलाई धोका दिएको उनको भनाई रहेको छ । यस्तै स्थानिय शिद्धराज ओझाले पनि गेटा मेडिकल कलेजलाई घटुवा गराएको आरोप लगाएका छन । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन– ‘गेटा मेडिकल विश्व विद्यालयलाई घटुवा गराउन सफल भएकोमा कैलाली क्षेत्र नम्बर चारका संघिय सांसद तथा नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति मा. बिर बहादुर बलायर, उनका भक्तजनहरु र यो सरकारलाई बधाई छ ।’

यस्तै युवा नेता लोकराज पाण्डेय आगोले गेटामा विश्वविद्यालय चलाउने भनेर प्रतिष्ठान चलाउन खोज्नुसुदूरपश्चिमवासीमाथि धोका हो ।विश्वविद्यालयभन्दा अर्को कुरा हामीलाई मान्य नहुने बताए। उनले भने, सुदूरपश्चिम अहिले नेता नै नभएको जस्तो भयो,’ ’कुनै पनि बाहनामा विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हटेको मान्य छैन। अब आन्दोलन गर्नुपर्छ।’ बजेट भाषणमा स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने बताएको सरकारले प्रतिष्ठान चलाउन कम्तिमा दुई वर्षसम्म दुई सय शय्याको अस्पताल चलाउनुपर्ने कुराको हेक्का राखेको छैन। प्रतिष्ठान नै चलाउने मनसाय भए दुई सय शय्याको अस्पताल चलाउने कुरा बजेट व्यक्तव्यमा आउनुपर्ने उनले बताए । गेटामा विश्वविद्यालय हुनुपर्छ भनेर सुरुदेखि आवाज उठाउनेहरू सरकारको बजेट वक्तव्यमा प्रतिष्ठानको रुपमा विकास गर्ने बताएपछि निराश बनेका छन्।

सोमवार अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले संघीय संसदमा पेश गरेको बजेटको बुँदा नम्बर २४२ मा गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने कुरा उल्लेख छ। यस्तै, गेटा अस्पताललाई एक सय शय्याको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्था गरेको अर्थमन्त्रीले उल्लेख गरेका छन्।बजेट भाषणमा स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने बताएको सरकारले प्रतिष्ठान चलाउन कम्तिमा दुई वर्षसम्म दुई सय शय्याको अस्पताल चलाउनुपर्ने कुराको हेक्का राखेको छैन। प्रतिष्ठान नै चलाउने मनसाय भए दुई सय शय्याको अस्पताल चलाउने कुरा बजेट व्यक्तव्यमा आउनुपर्ने हो। यो पटक सरकारले २०७८ चैतमा गेटामा दुई सय शय्याको अस्पताल तत्काल चाउने निर्णय बिरुद्ध एक सय शय्यामा अस्पताल चलाउन बजेट दिने कुरा गरेको छ।

स्थानीय युवाहरुको समुहले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा छिटो अगाडी बढाई सञ्चालनमा ल्याईनुपर्ने भन्दै आन्दोलन गरेका थिए । सोही विषयको समर्थन गर्दै र गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडी बढाउनुपर्ने लगायतका मागहरु राख्दै डाक्टर गोबिन्द केसी अनसन बसेका थिए । सरकारसँगको सहमतिपछि केसीले अनशन तोडेका थिए । त्यसअघि धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले पनि उक्त मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा अगाडी बढाईने बताएका थिए । कलेज निर्माणमा हालसम्म पाँच अर्ब ४५ करोड खर्च भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा २०५६ मा मेडिकल कलेज सञ्चालन गर्ने पहल सुरु भएको थियो ।यस्तै गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले आन्दोलन गर्ने घोषणा गरेको छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डे ९आगो०को अध्यक्षतामा बसेको बैठकले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ आन्दोलन गर्ने निर्णय गरेको छ। संघर्ष समितिले बुधबार साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ।

संघर्ष समितिले १८ गते बिहान ९ देखि १० बजेसम्म अत्तरियामा एक घण्टा चक्काजाम, १८ गते नै प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताएको छ।