विगतमा चालु वर्षका योजना कार्यान्वयनको व्यस्तता एकातिर, आगामी वर्षको योजना छनोट अर्कोतिर गरेर जेठ र असारमा निकै व्यस्त रहने कैलालीको टीकापुरका जनप्रतिनिधि यस वर्ष फुर्सदमा योजना छनोट गरिरहेका छन् । यस वर्ष पालिकाले वैशाख मसान्तभित्र चालु वर्षका योजना कार्यान्वयन गरिसक्ने नीति लिएपछि वडा तहका योजना कार्यान्वयन अन्तिम चरणमा पुगेका हुन् ।
चालु वर्षका योजना कार्यान्वयनको काम प्रायःसबै वडामा अन्तिम चरणमा पुगेका वडाध्यक्षहरु बताउँछन् । योजना कार्यान्वयन भइसकेकाले पालिकामा भुक्तानी लिने जस्ता कार्य भइरहेका छन् । आगामी वर्षका योजना छनोटको काम फुर्सदमा भइरहेको जनप्रतिनिधि तथा कर्मचारी बताउँछन् । “विगतका वर्ष असार अन्त्यसम्म व्यस्त भइन्थ्यो, चालु वर्षका योजना कार्यान्वयन भइरहेका हुन्थे”, वडा नं ६ का वडा सचिव मटराम चौधरीले भने, “यस वर्ष सबै योजना कार्यान्वयन भइसकेको अवस्था छ, हामीले पालिकाको नीतिअनुसार उपभोक्ता समिति गठन पहिलो चौमासिकमै ग¥र्यौं, दोस्रो चौमासिकमा आधाआधी काम भइसकेकाले समयमै सकिए ।”
योजना समयमै कार्यान्वयन भएकाले यसपटक आगामी वर्षका योजना छनोट गर्न बस्तीस्तरमा जाँदा फुर्सदका साथ जान पाइएको वडाध्यक्ष बलिराम चौधरीले बताए । “हामीले बस्तीस्तरबाट योजना छनोट गरिसक्यौँ, अब वडास्तरीय बैठक बसेर पालिकामा पठाउन बाँकी छ”, उनले भने, “आजभोलि हामी फुर्सदिला छौँ, सबैसँग छलफल गरेर योजना छनोट गर्न भ्याइएको छ ।” वडा नं ५ ले पनि चालु वर्षका सबै योजना कार्यान्वयन गरिसकेको जनाएको छ । वडा सचिव जगतबहादुर चौधरी दुई वटा योजना मात्र कार्यान्वयन भइरहेको बताउँछन् । “समयमै काम थाल्दा समयमै सकिँदो रहेछ”, उनले भने, “हामीले पनि आगामी वर्षका योजना बस्तीस्तरबाट छनोट गरिसक्याँै, अब पालिकामा सिफारिस गर्न बाँकी छ ।”
त्यस्तै वडा नं २ ले पनि सबै योजना कार्यान्वयन गरिसकेको जनाएको छ । वडा नं २ का सबइञ्जिनियर मीनबहादुर थापाले समयमै काम सुरु गरेकाले सहजै योजना कार्यान्वयन सकिएको बताए । वडा नंंं २ ले पनि आगामी वर्षका लागि योजना छनोट गरिसकेको छ । वडास्तरमा रहेका अधिकांश योजना कार्यान्वयन भइसकेको अवस्था छ भने गौरवका योजना केही वडामा कार्यान्वयन भइरहेका छन् । पालिकामा ठूला योजना सडक कालोपत्रको काम धमाधम भइरहेको पालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाही वडास्तरबाट सम्पन्न गर्नुपर्ने कार्यक्रम र वडास्तरमा रहेका गौरवका आयोजना पनि अन्तिम चरणमा रहेको बताए । “गौरवका योजनाका लागि असार १० गतेको समयसीमा दिइएको छ, आगामी आवका लागि बजेट निर्माण सुरु भएको छ, बस्तीस्तरमा योजना छनोटको काम सुरु भएको र कार्यपालिकाको बैठकबाट सभाको तालिम गर्ने तयारीमा छौँ ।” प्रमुख प्रशासकीय अधिकृत शाही समयमै योजना कार्यान्वयन भएकाले आगामी वर्षका योजना छनोट गर्दा बस्तीस्तरमा पर्याप्त छलफल गर्न पाइने, समयको उपयोग हुने, प्राथमिकताका योजना छनोट भई आउने बताउँछन् ।
“गौरवका योजना कार्यान्वयन भइरहेका, अन्य योजना भुक्तानीको चरणमा छन्”, उनले भने, अब असारमा हामीलाई भुक्तानीको चाप बढ्दैन, हामी धेरै योजनाको भुक्तानीको चरणमा गइसकेका छौँ ।” गत वर्ष जेठ र असारमा योजना अनुगमनमा भ्याइनभ्याइको अनुभव सँगालेका उपप्रमुख खड्कबहादुर शाह यस वर्ष सजिलो भइरहेको बताउनुहुन्छ । “हामीले नीति तथा कार्यक्रममै व्यवस्था गरेर काम गर्दा यस वर्ष सजिलो भएको छ, यस वर्ष हामी फुर्सदिला छौँ”, उनले भने, “यस वर्ष जेठमा पनि फुर्सद छ, समयमा योजना प्रारम्भ भए अनुगमन पनि राम्ररी गर्न सकिने भएकाले आगामी वर्ष थप कडाइका साथ लागू गर्छौं ।” रासस