सुदूरपश्चिमको तराइ क्षेत्रमा केहीदिन उखरमाउलो गर्मी, रोकियो मनसुन
मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मी हुने क्रम यथावत्
2023/06/17, 1:42
 
मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मी हुने क्रम यथावत्

धनगढी - भारतको गुजरातस्थित सौराष्ट्रमा उत्पन्न भएको समुन्द्री आँधी (चक्रवात बिपरजोय)ले पैदा गरेको पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा मनसुन प्रवेश गर्न सकिरहेको छैन।

कैलाली र कञ्चनपुरलगायत सुदूरपश्चिम प्रदेशमा अझै मनसुन प्रवेश गरेको छैन। तराईका जिल्लामा केहीँ दिन तातो हावा (लू)सँगै उखरमाउलो गर्मी हुने सम्भावना रहेको छ। पश्चिमी वायुका कारण निर्धारितभन्दा एक दिन ढिलो ३१ जेठमा प्रवेश गरेको मनसुन आइतबारसम्म सुदूरपश्चिमसम्म फैलने पूर्वानुमान नमिल्ने देखिएको छ। पश्चिमबाट पूर्वतर्फ चल्ने वायुले मनसुनलाई पश्चिमतर्फ बढ्न नदिइरहेको मौसम वैज्ञानिकहरुले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार चक्रवात बिपरजोयकै कारण आज सुदूरपश्चिमको आकाशमा बादल देखिएको हो। मौसमविद् गोविन्द झाका अनुसार अझै दुई–तीन दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुनी गतिविधि (बादल र वर्षा) सुरु हुने सम्भावना छैन। यसैकारण २ हप्ताभन्दा बढी समयदेखि लुम्बिनी र सुदूरपश्चिमका तराईका क्षेत्रमा जारी उखरमाउलो गर्मी अझै लम्बिने देखिएको उनले बताए।

आज सुदूरपश्चिमको तराईमा भने भारतको गुजरातस्थित सौराष्ट्रमा रहेको (चक्रवात बिपरजोय) र पश्चिमी वायुको प्रभावले अलिअलि आकाशमा बादलको सम्भावना देखिएको उनले बताए। ‘तर यो तापक्रम नै घटाउने गरी हुने देखिँदैन,’ उनले भने। कोशीदेखि गण्डकीसम्म चारवटा प्रदेशमा गत बुधबार (जेठ ३१ गते) नै प्रवेश गरेको मनसुन (वर्षा गराउने मौसमी प्रणाली) त्यसभन्दा अघि (पश्चिम) बढ्न नसकेको हो। जसका कारण मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मी हुने क्रम यथावत् रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार केही दिनदेखि देशका मध्य तथा पश्चिमी तराईका भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम लगातार वृद्धि भइरहेको देखिन्छ। उक्त भूभागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी हुने क्रम जारी छ। महाशाखाले चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, नवलपरासी जिल्लामा अत्यधिक गर्मीको सम्भावना अझै रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा थोरै तापक्रम घटे तापनि गर्मीको सम्भावना यथावत् रहने हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। ती क्षेत्रमा असार ३ गते (भोलि) सम्म तातो हावा चल्ने सम्भावना यथावत् रहेको  महाशाखाले उल्लेख गरेको छ। महाशाखाले मनसुनी प्रणालीको प्रभाव रहेका कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा भने बदली र वर्षाको सम्भावना रहेकाले तापक्रम घट्न सक्ने देखिएको बताएको छ।