कञ्चनपुरमा अनुमतिबिना औषधि पसल सञ्चालन गरी उपचार गर्ने दुई जना पक्राउ
2023/06/17, 1:52
 
कञ्चनपुरमा अनुमतिबिना औषधि पसल सञ्चालन गरी उपचार गर्ने दुई जना पक्राउ

कञ्चनपुर - कञ्चनपुरमा अनुमतिबिना औषधि पसल सञ्चालन गरी उपचार गर्ने दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१३ बडैपुर र भीमदत्त ९ ब्रहमदेवमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्ने दुई जना पक्राउ परेका हुन्।

बडैपुरमा मेडिकल पसलको नाम तथा अनुमति नलिइ औषधी पसल सञ्चालन गर्ने ३५ वर्षीय शान्तिरजन बैरागी र ब्रहमदेवमा औषधी पसल सञ्चालन गर्ने भारतको नोदिया पोष्ट ग्राम ईटापुकुरका ३९ वर्षीय गोकुल मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भरतराज गिरीले बताए।

प्रहरीले शुक्रबार उनीहरुको पसलमा छापा हानेको थियो। यसअघि पनि दोधारा चाँदनीमा अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी उपचार गर्ने ९ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गर्नेविरुद्ध कञ्चनपुर प्रहरी सक्रिय भएको छ। जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यो विषयमा स्थानीय तह मौन देखिएको आरोप लागेको छ ।