बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा
2023/07/29, 2:17
 
dd

बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा बाजुरामा १३ परिवार बिस्थापित भएका छन्। शुक्रबार आएको बाढी र पहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

हिमाली गाउँपालिका–३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतका अनुसार शुक्रबार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको हो।

पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ। उनीहरुको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले जानकारी दिए । पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ । युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ।साथै गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन्। लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका सात गरी १२ परिवार विस्थापित बनेको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिइन्।

उनका अनुसार बेहरीका चीन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित भएको छ। साथै ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा झाँक्री बोहरा, गङ्ग बोहरा अफिलाल बोहरा, ब्रिजित बोहराको परिवार विस्थापित बनेको छ।पहिरोले सिङ्गो बस्ती नै विस्थापित गर्ने गरी खसेको छ। दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन्।

पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई स्थानीय थुमथला आधारभूत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष थापाको भनाइ छ।गौमूलका अन्य बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। विसं २०७७ मा पनि पालिकाको १ र २ का अधिकांश बस्ती पहिरोबाट प्रभावित बनेका थिए। सयौँ बिघा जमिनमा क्षति पुगेको थियो भने दर्जनौ पशु चौपाया मरेका थिए। त्यो बेला पनि पालिकाका तर्फबाट उद्धार सम्भव नभएपछि तत्कालीन सरकारका गृहमन्त्रीकै नेतृत्वमा टोली अवस्था अध्ययनका लागि बाजुरा आइपुगेको थियो।