सुदूरपश्चिममा एकै दिन ४८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५३५ पुग्यो 
2020/07/03, 4:50
 
korona

सुदूरपश्चिममा एकै दिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको छ । दैनिक बृद्धिदरमा यो संख्या अहिलेसम्मकै बढी हो । धनगढी सहित विभिन्न प्रयोगशालामा भएको परीक्षणमा एकै दिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ३५ पुगेको छ । देशका सात वटा प्रदेशमा सुदूरपश्चिम प्रदेश तेस्रोमा छ । सुदूरपश्चिम प्रदेशभन्दा बढि प्रदेश नम्वर ५ र प्रदेश नम्वर २ मा संक्रमित रहेका छन । 

अन्य प्रयोगशालामा भएको परीक्षणमा कुन जिल्लाका कति नखुलेपनि धनगढीमा भएको परीक्षणमा पुष्टि भएका संक्रमितको जिल्ला र पालिका खुलेको छ । धनगढीमा शुक्रबार भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, चुरे गाउँपालिका दुई जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीनजना, मंगलसेन अछामका दुई जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुरका एक÷एक जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६९ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए। सुदूरपश्चिममा कोरोना पुष्टि भएका सात जनाको मृत्यु भएको छ भने ६ सय ८० जना डिस्चार्ज भएका छन ।