‘धोती मैलो, टोपी मैलो धोइदिन्या कोही छैन
परदेशमा मरन्याको रोइदिन्या कोही छैन।।।’
उल्लेखित देउडा गीतको यी पङ्क्तिले सुदूरपश्चिम र कर्णाली प्रदेशको विभिन्न जिल्ला तथा गाउँबस्तीबाट कामको खोजीमा भारत पुग्नेको कष्टकर जीवनकथालाई इङ्गित गरेको छ ।
केही दिनअघि भारतको गौरीकुण्ड पहिरोमा लालाबालासहित अस्ताएका जुम्ला पातारासीका अमर बोहरासहित १४ जना परदेशीको जीवनगाथा उक्त देउडा गीतसँग दुरुस्तै मिलेको छ । कर्णाली प्रदेशको जुम्ला पातारासी गाउँपालिका–२ का अमरसहित उहाँकी पत्नी अनिता, छोरीहरू राधिका र पिङ्की, छोराहरू पृथ्वी, जटिल र वकिलको पहिरोले एक चिहान नै बनाइदिएको छ ।
उहाँको परिवारमा रोइदिने र काजकिरिया गर्नेसम्म कोही बाँकी रहेनन् । सोही पहिरोमा उहाँका छिमेकी धर्मराज बुढा, चन्ने कामी, बम बोहरा र सुकराम रावत बेपत्ता भएका छन् । अन्य ११ जना नेपाली बेपत्ता छन् । बेपत्ता भएकामध्ये तीन जनाको शव फेला परेको छ तर शवको सनाखत हुन सकेको छैन । रोजगारीका लागि भारतको दुर्गम तथा जोखिम क्षेत्रमा काम गर्न पुग्दाको दयनीय नियति यहाँका सर्वसाधारणले भोग्दै आएका छन् ।
कामको खोजीमा भारत पस्दै गर्दा विभिन्न दुर्घटनामा मृत्यु हुने परवासी नेपालीका लागि यो एक प्रतिनिधिमूलक घटना मात्र हो । भारत जाने आप्रवासी कामदारको जीवन बिमा नहुँदा शव स्वदेश ल्याउन घरपरिवारले ऋण बोक्नु पर्ने अवस्था रहेको छ ।
गत वर्ष भारतको उत्तराखण्ड राज्यको पिथौरागढको धारचुला हुँदै कैलाश मानसरोवर जोड्ने सडकमा काम गर्दा पहिरोमा परेर डडेलधुराका ४५ वर्षीय नरबहादुर रोकाको मृत्यु भएको थियो । अर्का मजदुर पदमसिंह कुँवर गम्भीर घाइते भएका थिए ।
घाइते र मृतकको जीवन बिमा नहुँदा परिवारका सदस्यले कुनै राहत पाउन सकेनन् । शव ल्याउनसमेत निकै सास्ती भोग्नु प९यो । रोजगारीका लागि भारतको बैङ्लोर गएका बैतडीको सिगास गाउँपालिका–४ का डम्बरसिंह धामीको कार्यस्थलबाट फर्किने क्रममा गाडीले ठक्कर दिएर मृत्यु भयो । रोजगारी खोज्न भारतको काश्मीर पुगेका पाटनका हिमाल विष्ट काम गर्ने व्रmममा मेसिनमा अल्झेर दायाँ हात काटिएपछि अपाङ्ग बनेर घर फर्किए । आर्थिक समस्याले उनको उपचारमा समेत समस्या भएको छ । घाइते विष्टलाई उनका आफन्त तथा साथीभाइले रकम सङ्कलन गरेर नेपाल फर्काएको बताइन्छ ।
डोजरले खोस्यो रोजगारी
स्थानीय तहको पुनर्संरचनासँगै गाउँ गाउँमा पु९याइएका डोजरले स्थानीय मजदुरको रोजगारी खोसेपछि अधिकांश भारत पलायन हुन थालेका छन् । आर्थिक वर्ष २०७९/८० मा पश्चिमी सीमानाका झुलाघाटबाट २२ हजार ६३२ जना नेपाली रोजगारी तथा उपचारका लागि भारत गएका छन् ।
प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले २०७९ साउनदेखि २०८० असार सम्म १६ हजार ५१८ पुरुष र छ हजार ११४ महिला विभिन्न कामका लागि भारत गएको बताउनुभयो । झुलाघाट नाकाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट अधिकांश मानिस रोजगारीका लागि भारत जाने गरेका छन् ।
केही स्वास्थ्य उपचार र किनमेलका लागि भारत गएको तथ्याङ्क रहेको उनले बताए तर गाउँ गाउँमा डोजरलगायत विभिन्न उपकरणको प्रयोग हुन थालेपछि मजदुरी गर्नेहरू भारत पलायन हुन थालेको स्थानीय राजनीतिकर्मी बताउँछन् ।
बिमा कार्यक्रम रद्द
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भारतमा काम गर्ने आप्रवासी कामदारको जीवन बिमा गर्ने निर्णय गरे पनि कार्यविधि नबन्दा रद्द भएको छ । आप्रवासी कामदारको जीवन बिमासम्बन्धी कार्यविधि नबनेका कारण बजेट नै फ्रिज भएको सो मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले बताए।
सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जाने कामदारको मन्त्रालयमा तथ्याङ्क नै नभएको रोजगार संयोजक चम्पा जोशीले बताए । कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र कैलालीको गौरीफन्टा नाका हुँदै कामको खोजीमा हजारौँ मानिस भारत जाने गरेका छन् ।