पारिश्रमिक पाउनुपर्ने माग गर्दै संस्थागत विद्यालयका शिक्षक आन्दोलित
2020/07/03, 8:20
 
teacher

कैलालीको धनगढीमा पारिश्रमिक पाउनुपर्ने माग गर्दै संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) ले प्रदर्शन गरेको छ । २०७६ पुस महिनादेखि संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुले पारिश्रमिक नपाएको भन्दै धनगढीको पार्कमोडमा ब्यानर र पम्पलेट सहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

देशव्यापी आन्दोलन अन्तर्गत जिल्ला समिति कैलालीले पनि धनगढीमा प्रदर्शन गरेको जनाइएको छ । निजी विद्यालय सञ्चालकहरू पारिश्रमिकका विषयमा गम्भीर बन्न छोडेर उल्टै शिक्षक निकाल्ने गतिविधि गरिरहेको भन्दै शिक्षकहरुलाई निकाल्ने काम समेत रोक्न उनीहरुले माग गरेका हुन् । विद्यालय बन्द भइरहेको अवस्थामा शिक्षकहरुलाई सामान्य राहत हुनेगरी समेत सञ्चालकहरुले पारिश्रमिक उपलब्ध नगराएको उनीहरुले गुनासो गरेका छन्। सञ्चालकले शिक्षकहरुका समस्याप्रति बेवास्ता गरिरहँदा सरकारसमेत निरीह बनेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कैलालीका अध्यक्ष शिवराज जोशीले बताए ।

चैत महिनादेखि बन्द भएका विद्यालयले शिक्षकहरुलाई कुनै पारिश्रमिक नदिँदा निजी विद्यालयका शिक्षकहरुलाई दैनिक छाक टार्नै मुस्किल परेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) सुदूरपश्चिम प्रदेश अध्यक्ष तिर्थ अवस्थीले बताए । निजी विद्यालय सञ्चालकले पारिश्रमिकका विषयमा गम्भीर नभए आन्दोलन सशक्त रुपमा चर्काउने संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) ले जनाएको छ । संस्थागत विद्यालय शिक्षक युनियनका समस्या सम्बोधनमा सरकारको समेत ध्यानाकर्षण हुनुपर्ने उनीहरुको माग छ ।

शिक्षकहरुलाई घर धान्नै समस्या परिरहेका बेला कुनै निकायको चासो नगए आन्दोलनको जिम्मा सरकारले लिनुपर्ने शिक्षक महासंघ नेपालका उपाध्यक्ष केशवराज भट्टले बताए ।