भूस्वर्ग ‘बडीमालिका’ तीर्थयात्रा सुरु
2023/08/28, 11:46
 
ss

बाजुरा जिल्लामा रहेको महत्त्वपूर्ण धार्मिक स्थल बडीमालिकामा तीर्थ यात्रा सुरु भएको छ। अग्लो टाकुरामा रहेको शक्तिपीठ बडीमालिका दर्शनका लागि बाजुरा, डोटी, अछाम, कालीकोट, जुम्लासहित विभिन्न जिल्लाबाट तीर्थयात्री बडीमालिका जान थालेका छन्। 
भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन बडीमालिकासहित यहाँका अन्य शक्तिपीठहरूमा एकसाथ धार्मिक मेला तथा पूजा लाग्ने गर्दछ। बाजुराको बडीमालिका, बुढीनन्दा, बडालेख, दुनलेख र सुनन्दालगायत शक्तिपीठहरूमा एकैदिन पूजा लाग्ने गरेको बाजुरा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताए ।  

अद्भुत दैवी शक्ति रहेको मानिएको बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटनहरू, खेतीबेती, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन्। धार्मिक पूजाआरधानाका साथै सोही स्थाानहरूको अवलोकन गर्न तीर्थयात्रीहरू बडीमालिका आउने गरेका छन्।बडीमालिकाको दर्शनपछि मनोकाङ्क्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजनहरू दर्शन गर्न आउने गरेको बडीमालिकाका पुजारी नेत्रप्रसाद पाध्यायले बताउनुभयो। बडीमालिकाले निसन्तानीलाई सन्तान दिने, मागेको पूरा हुने विश्वासका साथ श्रद्धालु भक्तजनहरू बडीमालिकामा घुइँचो लाग्ने गरेको पुजारी पाध्यायले बताए । 

बडीमालिका पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालीकोटबाट सरकारी पूजा टोली बाजुरा आइपुगेको छ। ती जिल्लाबाट आएको सरकारी पूजा टोली बाजागाजाका साथ बडीमालिका लाग्ने तयारीमा रहेको छ। बडीमालिकामा परम्परादेखि नेपाल सरकारको नेतृत्व गर्दै बाजुरा जुम्ला, कालीकोट र डोटीबाट सरकारी टोली अनिवार्य उपस्थिति हुनु पर्ने चलन रहेको छ। सरकारी पूजा टोलीको नेतृत्व गर्दै प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालगायत आइतबार बडीमालिकामा प्रस्थान गर्नुभएको छ। सो टोलीमा सुरक्षा निकायका प्रमुख, बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का र अन्य जनप्रतिनिधि सहभागी रहेका थिए । 

बडीमालिका क्षेत्रको धार्मिक, सांस्कृतिक संरक्षणका लागि संरक्षण क्षेत्र घोषणा गरिएको छ। ‘बडीमालिका मन्दिर’ चार हजार २१६ मिटर उचाइमा रहेको छ। बडीमालिका पुग्न सात दिनको पैदल यात्रा गर्नुपर्ने हुन्छ। विभिन्न जिल्लाबाट हजारौँ भक्तालुहरू यात्रामा निस्किएका छन्। त्यस्तै बाजुराकै पूर्वीउत्तर क्षेत्रमा रहेको बुढीनन्दामा पनि तीर्थ यात्रा सुरु भएको छ। बडीमालिकासँगै बुढीनन्दाको पनि एकैसाथ यात्रा सुरु हुने गरेको छ। धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा रहेको बुढीनन्दामा विभिन्न ताल, झरना र रमणीय फाँटहरू रहेका छन्।बडीमालिका र बुढीनन्दा दिदीबहिनी भएकाले शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् भदौ चतुर्दशीका दिन पूजा लाग्ने गरेको छ । यस वर्ष पहिलो पटक बुढीनन्दामा सरकारी पूजा लाग्ने भएको छ।