बाजुरामा बाटोमै एक महिलाले जन्माईन बच्चा
2023/08/28, 11:50
 
ss

जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ काँडाकी एक महिलाले अस्पतालबाट घर फर्किने क्रममा बाटोमै बच्चा जन्माईन ।जमालगाउँकी ३२ वर्षीया उज्जली सुनारले अछामको बयालपाटा अस्पतालबाट घर फर्किने क्रममा बुढीगंगा नगरपालिका–१० सिगाडामा बच्चा जन्माएकी हुन ।

अस्पतालमा चिकित्सकले जाँच गर्दा बच्चा पाउने अवधी १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने भनेपछि अस्पताललाई खबर नगरी घर फर्किकी सुनारले बाटोमै बच्चा जन्माएको खप्तड छेडेदह गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रावतले जानकारी दिए ।

सुत्करी महिलाको श्रीमान भारतमा भएकाले अप्रेसन भारतमा गएर गर्ने गरी फर्किनुभएकी सुनारले घर पुग्न नपाउदै बीचबाटोमा बच्चा जन्माएको रावतले बताए ।

घर फर्किने क्रममा बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १० स्थित पानीभुवाको सडक बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सिर्जना सार्कीले बताए ।

बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यकमी सिर्जना सार्कीले भेटाउनुभएको थियो । अनमी सार्कीले बाटोमै सुत्केरी गराउनमा सहयोग गरेकी थिईन ।

जिल्लामा उज्जली मात्र नभइ केही महिना पहिला बाजुराको गौमुल गाउँपालिका ३ माँझपाली बस्ने २१ वर्षीय भाग्य चदारा बाटोमा बच्चा जन्माएकीथिईन । त्यस्तै हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकायाले बाटोमै बच्चा जन्माएकीथिईन । सुत्केरी ब्यथा लागेपछि तीन घण्टा टाढा रहेको बामु आधारभुत स्वास्थ्य सेवा केन्द्रमा लग्दै गर्दा बाटामै बच्चा जन्माएकीथिईन ।

स्वास्थ्य संस्था टाढा भएकाले लिदै गर्दा उहाँले बाटोमा बच्चा जन्माउनु परेको हो । त्यस्तै हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ वर्षीया पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माएकीथिईन।

स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकले केही समय पहिला बाटोमा बच्चा जन्माएकीथिईन । सुत्केरी ब्यथा लाग्ने बित्तिकै आफन्तले स्वास्थ्य केन्द्रमा लिदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानीय बलबहादुर विकले बताए ।

यी त केही उदाहरण हुन्, बाजुराको दुर्गम गाउँका आमाहरु बाटोमा र घरमा बच्चा जन्माउने संख्या निकै रहेको रुगिन चौकीमा कार्यरत विमला पाण्डेले बताए। बाजुरामा चारवर्ष यता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ ।

गर्भवती भएपछि नियमित गर्भजाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले बताए ।

खड्काका अनुसार जिल्लामा तथ्याङ्क कुनै नभएपनि एक महिना एकदेखि दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेका छन् । सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेपनि अकालमा सुत्केरी महिला मर्नेक्रम रोकिएको छैन ।