रित्तिँदै सुदूरपश्चिमका आईसोलेशनः ३५३५ जनामा संक्रमण पुष्टि भएकोमा १०६ जना मा आईसोलेसन (भिडियो सहित) 
2020/07/04, 8:48
 
korona

सुदुरपश्चिममा कोरोना संक्रमितहरू निको भएर घर जाने क्रम बढेको छ । आइसोलेसनमा बसेका उनीहरूलाई लक्षणमुक्त भएका आधारमा पीसीआर परीक्षण नगरेरै पठाउन थालिएपछि आइसोलेसन रित्तिन थालेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएकामा ६ सय ८२ जनालाई डिस्चार्ज गरिएको छ । अहिले १ सय ६ जना मात्र विभिन्न जिल्लाका आइसोलेसनमा बसिरहेको स्वास्थ्य सेवा महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए । 

चैत १४ गते पहिलोपटक संक्रमण देखिएको सुदूरपश्चिममा शुक्रवार ११ जना डिस्चार्ज भएका छन् । सुरुवातको केही समयसम्म पुनः स्वाब परीक्षण गरेर डिस्चार्ज गर्ने गरिए पनि अहिले आइसोलेसनमा बसेको समय र उनीहरूमा देखिएको लक्षणका आधारमा डिस्चार्ज गर्ने गरिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । ‘सरकारले भर्ना भएको लामो समयसम्म लक्षण देखिएन भने डिस्चार्ज गर्न मिल्ने निर्देशन दिएको छ,’ उनले भने, ‘हामीले त्यही निर्देशनका आधारमा डिस्चार्ज गर्ने गरेका छौं ।’ संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २१ गते देशभरका कोरोना अस्पताललाई ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ पठाई परीक्षण बिनै डिस्चार्ज गर्न सकिने बाटो खोलेको थियो ।

प्रदेश सरकारका अनुसार सुदुरपश्चिममा कोरोना संक्रमितका लागि कुल आइसोलेसन बेड संख्या तीन सय १२ रहेको छ । परीक्षणबिनै घर पठाउने गरिएपछि आइसोलेसन बेडहरू खाली भएका छन् । ४८ बेड क्षमताको धनगढी स्थित सेती प्रादेशिक  अस्पतालको कोरोना विशेष अस्पतालमा अहिले १० जना संक्रमित छन् । सेतीको कोरोना अस्पतालमा कार्यरत डा. निराजनदत्त शर्मा पौडेलका अनुसार सुदुरपश्चिमका अधिकांश कोरोना संक्रमितमा लक्षण देखिएको छैन । संक्रमितमध्ये ७ जनाको मृत्यु भए पनि कोरोनाकै कारण उनीहरूको मृत्यु भने भएको होईन ।

सुदुरपश्चिममा शुक्रबारसम्म २१ हजार ८ सय ८३ पीसीआर परीक्षण भएको छ । धनगढी स्थित प्रयोगशालामा संकलन भएका स्वाबको प्रोसेसिङ गरी राष्टिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएको छ । संक्रमितहरू परीक्षण बिनै डिस्चार्ज भएपछि गाउँमा भने जोखिम बढेको छ । प्रदेश अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएर घर गएका एक संक्रमितले पीसीआर परीक्षण नहुँदा ढुक्क रहने अवस्था नभएको बताए । ‘गाउँका मान्छेले पनि शंका गर्दै दुव्र्यवहार गर्छन्,’ उनले भने, ‘मैले त सकभर सावधानी अपनाउने प्रयास गरेको छु, सँगै आएका अन्य केही व्यक्ती भने मज्जाले गाउँमा डुलिरहेका छन् ।’